वडा कार्यालयमा दुई लाख रुपैयाँसहितको झोला भेटियो

वडा कार्यालयमा दुई लाख रुपैयाँसहितको झोला भेटियो

पर्वत । कास्कीको पोखरा महानगरपालिका–१३ भद्रकालीको वडा कार्यालयमा दुई लाख रुपैयाँसहितको झोला फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार गत आइतबार साँझ पाँच बजेको समयमा वडा कार्यालयमा वडा सचिव अन्जु गुरुङ रहने गरेको कोठा नं. १ मा उक्त झोला फेला परेको हो। कार्यालयको सोफामा खैरो रङको पछाडि भिर्ने झोला कोही अपरिचितले छाडेर गएकोमा कसैले पनि दाबी नगरेपछि वडा कार्यालयले झोलाको बारेमा प्रहरीमा खबर गरेको हो।

वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले सुरक्षा सतर्कताका सात वडा सदस्यहरूको रोहबरमा झोला खोलेर हेर्दा दुई लाख रुपैयाँ नगदसहित कपडा, क्यामेरा, मोटरसाइकलको चाबी फेला परेका थिए।

नगदसहितको झोला वडा प्रहरी कार्यालयमा राम बजारमा नै रहेको र कोही कसैले दाबी गर्ने भएमा प्रमाण देखिने कागजातसहित वडा प्रहरी कार्यालयको सम्पर्कमा आउन कास्की प्रहरीले अनुरोध गरेको छ।