व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा अघि बढेका छौँः कार्यवाहक प्रधानमन्त्री सिंह

व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा अघि बढेका छौँः कार्यवाहक प्रधानमन्त्री सिंह

 काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा सरकार अघि बढेको बताएका छन्।

सिंहदरबारमा आइतबार नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उनले घरजग्गा व्यवसायमा रहेका समस्या पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए।

सहर व्यवस्थापनमा भएका समस्या पहिचान गरी व्यवस्थित गर्ने काम भइरहेको उनको भनाइ छ। सहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गरिने उनले बताए।

‘समस्याहरु पहिचान गर्नुपर्छ। पोलिसी बनाएर ऐनमा लैजानको लागि अहिले कम भइरहेको छ। सहरलाई अलि व्यवस्थित गर्दै लगौँ। सहरलाई व्यवस्थित गर्दै लग्दा अपार्टमेण्ट, हाउजिङको कन्सेप्टदेखि लिएर सबै आइरहेको छ, त्यसमा देखापरेका कमी, कमजोरी आइडेन्टीफाइ गरौँ। त्यसपछि विधि प्रक्रियामार्फत ऐन बनाउन, प्रोसेसमा फास्ट लैजान हामी प्रयासरत हुनेछौँ।

सहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्छ भन्नेमा हामी विश्वस्त छौँ, निजी क्षेत्रहरु सबै मिलेर अहिलेको व्यवस्थित शहर, स्वच्छ शहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्ने गरी अघि बढ्नुपर्छ,’ उनले भने।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले सहरी ऐन छिटो ल्याउन आग्रह गरे। २०६२ सालदेखि पटकपटक सहरी ऐन ल्याउने क्रममा विगत १८ वर्षमा धेरै प्रयास भए पनि ऐन आउन नसकेको उनले बताए। जग्गा तथा आवास विकास निजी क्षेत्रको सहकार्यमा गर्ने प्रतिवद्धता भइसकेकाले ल्याण्ड पुलिङ, हाउजिङ पुलिङ जस्ता विषय निजी क्षेत्रको सहभागितामा गराउनुपर्ने माग गरिएको उनको भनाइ छ।

विदेशीलाई २० प्रतिशतसम्म अपार्टमेण्ट खरिद गर्न पाउने व्यवस्था पटकपटक पास गरे पनि कार्यान्वयनमा नआएको उनले बताए।