एकीकृत समाजवादी भित्रको विवाद उत्कर्षमा

एकीकृत समाजवादी भित्रको विवाद उत्कर्षमा

काठमाडौं। नेकपा एकीकृत समाजवादी (नेकपा एस) भित्रको आन्तरिक असन्तुष्टि झन् बढ्दै गएको छ। गत भदौ दोस्रो साता निर्वाचनमार्फत पदाधिकारी चयन गरेसँगै बढ्न थालेको अन्तरकलह समाधान हुनको सट्टा झन् झांगिँदै गएको छ ।

पदाधिकारी चयनका लागि भएको निर्वाचनले पार्टीभित्रको गुटबन्दी छताछुल्ल बनाएको थियो। पदाधिकारी चयनमा शीर्ष नेताहरूबीच नै गुटबन्दी भएपछि त्यसको असर स्थानीय तहसम्म समेत पुगेको छ।

एकीकृत समाजवादीको गत असार १६-२० गते काठमाडौंमा आयोजना गरेको दशौँ महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो।

त्यसबाहेक अन्य पदाधिकारी सहमतिमा टुंगो लगाउने पटक-पटक प्रयास भए पनि सहमति नजुटेपछि मतदानबाट पदाधिकारी चयन गरिएको थियो । पदाधिकारी चयनबाट चुलिएको असन्तुष्टि अहिले पार्टी परित्याग गर्ने चरणसम्म पुगेको छ।

नेकपा एसका प्रतिनिधि सभाका सांसदहरू किसान श्रेष्ठ र प्रेम आलेमगर पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नको लागि एमालेको नेतृत्वसँग अनौपचारिक छलफलमा रहेको निकट नेताहरूको भनाइ छ।

यद्यपि, सांसदहरू पार्टी प्रवेशको प्रक्रिया जटिल भएकाले श्रेष्ठ र आलेमगरको एमाले प्रवेशमा ढिलाइ भएको एमालेका कतिपय नेताहरूको दाबी छ । युवा नेतृ रामकुमारी झाँक्रीले पनि पदाधिकारी चयनलगत्तै पार्टी परित्याग गर्ने संकेत गरेकी थिइन्।

पछिल्लो समय पार्टीमा असन्तुष्ट रहँदै आएकी नेतृ झाँक्रीले तत्कालै पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने तयारी गरेको नेताहरूको दाबी छ। आफूलाई पदाधिकारीमा हराउन पार्टी अध्यक्ष माधवकुमार नेपालले नै सक्रिय भूमिका खेलेको उनको आरोप छ।

एमाले विभाजन गरेर नेकपा एस गठन गर्दाताका माधव नेपाललाई दरिलो साथ दिनुभएकी झाँक्रीले असोज १ गते सामाजिक सञ्जाल फेसबुकमा ‘यात्रामा जब मोडहरू आउँछन् नि त्यो बेला मोडिनुपर्छ।’ भन्ने स्टाटस लेखेर पार्टी छोड्ने संकेत गरेकी छन्।

पार्टीभित्र असन्तुष्टि बढ्दै जाँदा अध्यक्ष माधवकुमार नेपालले पार्टीकै नेता-कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने र बोल्ने गरेको भन्दै अबदेखि पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी बागमती प्रदेश कमिटीको १०औँ राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही केही नेता कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने गरेको टिप्पणी गर्दै भने, ‘केही केही साथीहरूले अनेक ढंगले निराशा पैदा गर्नेगरी लेख्ने गरिरहेका छन्, बोल्ने गरिरहेका छन्। त्यो तरिका गलत हो। जे लागेको छ पार्टीभित्र राख्नुस्, कमजोरी छन् भने छलफलको विषय बनाऔँला। तर, चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने कुरा गलत हो त्यसलाई छुट दिन सकिँदैन। पार्टीप्रतिको जनताको विश्वासलाई कमजोर बनाउने कुनै पनि काम पार्टीमा माया भएको मानिसले गर्न हुँदैन। रिसको झोंकमा लेख्नुको साटो बरु घरमा गएर पानी पिउनुस्, मोबाइलसमेत नचलाउनुस् ।’

अध्यक्ष नेपालले जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन आफूहरूलाई स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्। अध्यक्ष नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्तिको विषयलाई गीत बनाएर हिँड्न आवश्यक नभएको जवाफ फर्काएका छन्।