ओली अमेरिका उडेलगत्तै नेपालमा सत्ता परिवर्तनको चर्चा

ओली अमेरिका उडेलगत्तै नेपालमा सत्ता परिवर्तनको चर्चा

काठमाडौं। आफू संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानु पूर्व नै प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा वैकल्पिक गठबन्धनको सम्भावना टरोस् भन्ने चाहन्थे।

त्यसका लागि रास्वपा सभापति रवि लामिछानेलाई सहकारीको पैसा अपचलनको आरोपमा पक्राउ गर्ने, संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने र माधव नेपालको पार्टी विभाजन गर्ने ओलीको चाहना थियो।

तर ओलीले चाहेको जस्तो भएन। सहकारी छानविन विशेष समितिले प्रतिवेदन बुझाउँदै रवि लामिछानेलाई कारवाही गर्न सिफारिस त गरेको छ, तर उनीमाथि कस्तो प्रकारको कारवाही गर्ने भन्ने विषय अन्योलमा छ, उता माधव नेपालको पार्टी फुटाएर बैकल्पिक गठबन्धन तत्काल बन्न नदिने ओलीको रणनीति पनि यतिबेला सफल भएको छैन। बरु उनी अमेरिका उडे लगत्तै सत्ता परिवर्तनको चर्चा भने सुरु भएको  छ।

खासगरी कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले दुई दल मिलेर सरकार चलाउनेतर्फ सोच्नुपर्नेगरि गृहकार्य थालेका छन्। एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री ओलीको धोकाकै कारण आफू अकस्मात सरकारबाट बाहिरिनुपरेको प्रचण्डको बुझाइ छ।

उनी कुनैपनि हालतमा ओलीसँग बदला लिने मुडमा छन्। र, एमालेलाई तत्कालै सत्ताबाट पर धकेल्न चाहन्छन्। हुन त दाहालले अहिले आफ्नो र पार्टीको प्राथमिकता सत्ता नभएको दाबी गरेका छन् ।

तर, उनले यही बीचमा कांग्रेसका नेता शेखर कोइरालासँग गरेको लगातारको भेटवार्ताले पनि कुनैपनि हालतमा कांग्रेस र एमालेको समिकरण भत्काउन आँतुर छन् भन्ने कुरा देखाउँछ।

कांग्रेस सभापति देउवा पत्नी डा. आरजु राणा देउवा यतिवेला परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छिन्। उनकै जोडबलमा कांग्रेस र एमालेको सहकार्य भएको बताईन्छ । मन्त्री राणा भारत भ्रमणमा रहेको बेलामा प्रचण्डका दुवै छोरी रेनु र गंगा पनि दिल्लीमै पुगेका थिए।

कतिसम्म भने रेनु र गंगा बसेको होटेलमै आरजुलाई पनि राखिएको खुलासा भएको छ। पछिल्लो समय प्रधानमन्त्री ओलीपनि कांग्रेस नेतृत्वको भूमिकाप्रति सशंकित बनेका छन्।

उनले आफूविरुद्ध घेराबन्दी भएको र अबको दिन अप्ठ्यारा रहेको भनेर पार्टीभित्र गरेको ब्रिफिङले पनि उनी कति असहज अवस्थामा छन् भन्ने कुरा पुष्टि हुन्छ। प्रधानमन्त्री ओली अमेरिकामा रहेकै बेलामा यता राजनीतिक धोकाधडीको शृखंला दोहोरिने चर्चा छ।

अहिले कांग्रेस र माओवादीसहितको पूरानै गठबन्धन ब्युँताउनको लागि सबैभन्दा सक्रिय भूमिका माधव कुमार नेपालले पनि खेलेको चर्चा छ। यो बीचमा माधव नेपालले देउवासँग भेटवार्ता गरेको बुझिएको छ। देउवाले अहिलेको कांग्रेस र एमालेको गठबन्धन दायाँबायाँ नहुने बताउँदै आएका छन्।

तर, पार्टीको आसन्न १५औं महाधिवेशनलाई ध्यान दिएर देउवाले त्यसअघि नै सत्ताको नेतृत्व लिने कुरामा सकारात्मक जवाफ दिने गरेका छन् । माधव नेपालकै जोडबलमा देउवा र दाहालबीच आज भोलिभित्रै निर्णायक भेटवार्ताको तयारी भैरहेको स्रोतको दाबी छ। दुई नेताबीच भेटवार्ता गराउनको लागि दुवै दलका दोस्रो तहका नेताहरु पनि खटिएको चर्चा छ।