ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले बुझे १ करोड ४ लाख रुपैयाँ तलब

ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले बुझे १ करोड ४ लाख रुपैयाँ तलब

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ।

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा १ करोड बढी तलब बुझेको उल्लेख छ।

लामिछानेले आर्थिक वर्ष ०७८/०७९मा मात्र ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन्। आर्थिक वर्ष ०७७/७८ मा उनले ३० लाख लिएको प्रतिवेदनमा उल्लेख छ।

लामिछानेले जम्मा १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन्। सभापति लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा ६५ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर भएको तथ्य समितिले खुलासा गरेको छ।

सोही रकमबाट लामिछानेले १ करोडभन्दा बढी तलब लिएका हुन्। गोर्खा मिडिया नेटवर्कमा तलबबापत २ आर्थिक वर्षमा १४ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।

साथै समितिले लामिछानेलाई सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्ने प्रक्रियामा प्रमुख भूमिका रहेको भन्दै दोषी ठहर गरेको छ। समितिले लामिछानेसहित गोर्खा मिडियाका संचालक जीबी राई, छबिलाल जोशी र कुमार रम्तेललाई प्रचलित कानुन बमोजिम कारवाहीको सिफारिस गरेको छ।