वीरगन्जको आइसिपी चोक तनावग्रस्त

वीरगन्जको आइसिपी चोक तनावग्रस्त

वीरगन्ज । वीरगन्ज–१७ अलौंस्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) चोकमा आज (शुक्रबार)पनि बिहानैदेखि स्थानीयले प्रदर्शन सुरु गरेका छन् ।

बिहीबार अपराह्ण ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका वीरगन्ज –१७ अलौंका २२ वर्षीय टिनुकुमार साह तुराहाको मृत्यु भएपछि त्यसैको आक्रोशमा स्थानीयले शुक्रबार बिहानैदेखि प्रदर्शन सुरु गरेका हुन्।

उनीहरूले आइसिपी चोकमा सडकमै टायर बालेर अवरुद्ध पार्दै प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने ट्यांकरका चालकलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेको बताइएको छ।

आइसीपी चोकमा बिहीबार अपरान्ह ३:३० बजेतिर ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल चालक वीरगन्ज–१७ अलौंका तुराहा गम्भीर घाइते भएका थिए । वीरगन्जको गण्डकस्थित वयोधा मेडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहीबार राति उनको मृत्यु भएको थियो। 

दुर्घटनालगत्तै गम्भीर घाइते तुराहालाई उपचारका लागि सुरुमा बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा  लगिएको थियो । त्यसपछि वयोधा मेडिसटी हस्पिटलमा भर्ना गरिएका तुराहाको उपचारका क्रममा राति मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । ठक्कर दिने ट्यांकर र त्यसका चालकलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ ।

आक्रोशित स्थानीयबासीले बिहीबार पनि अलौंको आइसिपी चोकमा टायर बालेर सडक अवरुद्ध गरेका थिए । त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप पनि भएको थियो । सडकमा टायर बालेर सडक अवरुद्ध गरेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दा झडप भएको थियो । झडपमा प्रहरीको लाठी चार्जबाट अलौंका स्थानीय मोहित साह घाइते भएका थिए  ।