काठमाडौं । भारतको मध्य प्रदेशको इन्दौरमा सामूहिक बलात्कारको घटना बाहिर आएको छ । गत मंगलबार राति एक महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, दुई सैनिक अधिकारी इन्दौर नजिकै रहेको महु आर्मी कलेजमा तालिम लिँदै आएका थिए । मंगलबार राति उनीहरू अरू दुई जना केटी साथीलाई लिएर महु–मण्डलेश्वर सडकमा रहेको जाम गेट नजिकैको अहिल्या गेट पुगेका थिए । राति करिब साढे २ बजेतिर उनीहरूमाथि ६–७ जनाले आक्रमण गरेका थिए ।
पेस्तोल, चक्कु र लठ्ठी बोकेर आएका आक्रमणकारीहरूले कार घेरेका थिए । त्यसपछि उनीहरूले चारैजना माथि कुटपिट गरेर लुटपाट गरेका थिए । कुटपिटपछि उनीहरूमध्ये एक सैनिक अधिकारी र अर्की महिला गरी दुई जनालाई बन्धक बनाइएको थियो ।
त्यसपछि आक्रमणकारीहरूले बाँकी रहेका सैनिक अधिकारीलाई १० लाख रुपैयाँ दिएमात्र बन्धक बनाइएका साथीलाई रिहा गर्ने बताएका थिए । यही बहानामा ती सैनिक अधिकारीले आफ्ना वरिष्ठ अधिकारीहरूलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि तत्कालै प्रहरी टोली पठाइए पनि त्यतिन्जेल ढिलो भइसकेको थियो ।
घटनामा संलग्नहरू फरार भइसकेका थिए । अहिलेसम्म ६ जनाको पहिचान भइसकेको छ । उनीहरूमध्ये दुई जनालाई जंगलबाटै पक्राउ गरिएको हो । पक्राउ परेका एकजना आपराधिक पृष्ठभूमिका भएको खुलेको छ ।
बुधबार बिहान ६ः३० बजे पीडित चारैजनालाई महु सिभिल अस्पतालमा ल्याइएको थियो । जहाँ स्वास्थ्य परीक्षणबाट एक महिलामाथि सामूहिक बलात्कार भएको पुष्टि भएको थियो । यस घटनाले अहिले भारतमा निकै चर्चा पाइरहेको छ ।