जाजरकोट । रुकुम पश्चिममा खोलाले रुकुम पश्चिमममा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका- ६ र ७ को सिमानामा रहेको रम्माखोलाले बगाउँदा मोटरसाइकलमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार मुसिकोट नगरपालिका ४ निवासी ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ निवासी अन्दाजी ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको हो ।
रा ६ प २९६१ नम्बरको मोटरसाइकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा आइतबार बेलुका करिब साढे आठ बजे खोलाले बगाएको र सोमबार बिहान मात्र थाहा भएको प्रहरीले जनाएको छ ।
खोलाभन्दा करिब तीन सय मिटर तल महिला र करिब २० मिटर तल पुरुषको शव फेला परेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।पुरुषको शव मोटरसाइकलले च्यापिएको महिलाको शवको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो । अहिले प्रहरीले शव निकालेर घटनास्थल प्रकृति मुचुल्का तयार गरिरहेको छ ।