नरेशको बयान-ममता यसअघि पनि पटक-पटक बेपत्ता भएकी थिइन्

नरेशको बयान-ममता यसअघि पनि पटक-पटक बेपत्ता भएकी थिइन्

तीन वर्षअघि नरेश भट्ट र ममता काफ्लेबीच विवाह भएको थियो । गत वर्ष मात्र एक छोरीलाई जन्म दिएकी उनी महिना दिनअघि रहस्यमय तरिकाले बेपत्ता भएकी थिइन् । २८ वर्षीया आमा एवं बालचिकित्सा नर्सको हत्या गरी शव लुकाइएको र यसमा नरेशको हात रहेको धेरैको आशंका छ ।

यद्यपि, नरेशमाथिको अभियोग पुष्टि भएको छैन । उनले हत्या गरेको वा शव लुकाएको प्रमाण जुटाउन स्थानीय प्रहरीले प्रयास गरिरहेको छ ।

नरेशको बचाउ पक्षका कानुन व्यवसायीले भने अभियोजकले कमजोर प्रमाण देखाएर नरेशलाई थुनिरहेको तर्क गरेका छन् । दुवै पक्षको आ–आफ्नै तर्क छ । ममता काफ्ले प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ ? पक्ष र विपक्षले केकस्तो तर्क गरिरहेका छन् ? नरेशको बयान के छ ? जस्ता प्रश्नमा केन्द्रित रहेर अमेरिकी मिडिया एवं भर्जिनियास्थित नेपाली समुदायलक्षित अनलाइन मिडिया नेपयोर्कलगायतको सहयोगमा यो सामग्री तयार गरिएको छ । 

स्थायी रूपमा काभ्रेकी ममता एकाएक सबैसँग सम्पर्कविहीन भएपछि स्थानीय नेपाली समुदाय र नेपालस्थित माइती पक्षले उनको अवस्था पत्ता लगाउन निकै प्रयास गरे । सोसल मिडियामार्फत नेपाली समुदायका सदस्यले सामुदायिक कार्यक्रमहरू राखे । उनका लागि र्‍याली निकाले । ममता हराएको केही दिनपछि नै नेपाली समुदायले श्रीमान् नरेश भट्टमाथि सार्वजनिक दबाब दिन थाले । स्थानीय मिडियाका अनुसार, उत्तरी भर्जिनियामा हत्याको घटना दुर्लभ मानिन्छ । 

भट्टलाई ममता सम्पर्कविहीन भएको करिब तीन सातापछि घरबाटै गिरफ्तार गरिएको थियो । श्रीमतीको हत्या गरी नरेशले नै शव लुकाएको आशंका छ । अनुसन्धानकर्ताका अनुसार, भट्टको घरमा भेटिएको रगतको मात्राले ममता जीवित भेटिने सम्भावना करिब शून्य रहेको प्रस्ट्याउँथ्यो । 

हुन पनि एक महिनाभन्दा लामो समय भइसक्दा पनि ममताको विषयमा थप केही तथ्य फेला परेको छैन ।

गत बिहीबार बिहान नरेशलाई विलियम काउन्टी अदालतमा पेस गरिएको थियो । उनीविरुद्ध सन् २०२५ को सुरुवातमा मुद्दाको सुनुवाइ सुरु हुने सम्भावना छ । भट्टका वकिलले डिसेम्बर वा जनवरीको सुरुवातमै यो मुद्दामा सुनुवाइ होस् भन्ने चाहेका छन् । तर, अभियोजकले योभन्दा बढी समय मागिरहेका छन् । प्रमाण फेला पार्न नसकिरहेकाले उनीहरूले जनवरीको अन्त्य वा फेब्रुअरीको सुरुवातमा सुनुवाइ सुरु गर्न अनुरोध गरेका छन् । 

प्रहरीले नजिकैको विद्यालय, विभिन्न पार्क र अन्य सामुदायिक क्षेत्रमा प्रमाण खोजिरहेको छ । स्थानीय क्रिश्चियन स्कुलको वेबसाइटअनुसार विद्यालय आफैँले स्थान परिवर्तन गरेको छ । अहिले स्कुलको भवन खाली छ । 

अदालतमा बुझाइएको छानबिन दस्तावेजअनुसार, नरेशले जुलाईको अन्त्यमा ममताको हत्या गरेको अनुमान छ । हत्यापछि उनले शवलाई मानसपार्कस्थित घरबाट घिसारेर बाहिर निकालेको अभियोजकहरूको दाबी छ । यद्यपि, प्रहरीले ममताको मृत्यु पुष्टि हुने कुनै आधार भने देखाएको छैन । 

नरेशमाथि हत्याको आरोप नभएर शव लुकाएको आरोप मात्र लगाइएको छ । ३७ वर्षका भट्टलाई गिरफ्तार गरी बिनाजमानत हिरासतमा राखिएको छ । कतिपय मिडियाका अनुसार, अभियोजकहरूले भट्टमाथि हत्याको अभियोग लगाउन चाहिने प्रमाणहरू पेस गरेका छैनन् । उनले पनि हत्या आरोपलाई स्वीकारेका छैनन् । 

गत वर्ष छोरी पाएपछि नरेश र ममता मानसपार्कस्थित घरमा सरेका थिए । 

पुलिस र आर्मीमा काम गरेका नरेश 
नरेश भट्टले जून २०१७ देखि फेब्रुअरी २०२४ सम्म अमेरिकी आर्मीमा काम गरेका थिए । सैनिक प्रवक्ताका अनुसार, नरेशले घटना हुनुभन्दा पहिल्यै पद छोडिसकेका थिए । उनी अमेरिकी नागरिक हुन् । उनको प्रतिरक्षामा कानुन व्यवसायीको टिम खटिएको छ । उनीविरुद्ध यसअघि कुनै घरेलु हिंसाको रेकर्ड नभएको तर्क उनीपक्षीय वकिलहरूले गरेका छन् । 

प्रहरीबाट बर्खास्त भएका थिए 
सन् २०२० को जूनमा उनी फेयरफ्याक्स काउन्टी प्रहरीमा थिए । सन् २०२० अक्टोबरमा उनी प्रहरीमा भर्ती भए । तर, प्रहरीले उनलाई आफ्नो भूमिकाअनुसार काम गर्न नसकेको भन्दै २२ दिनमै बर्खास्त गरिदिएको थियो । 

परस्परविरोधी बयान
अभियोजकको दाबीअनुसार, प्रहरी सोधपुछका क्रममा नरेशले श्रीमतीको विषयमा परस्परविरोधी बयान दिए । ममताका सहकर्मीको अनुरोधमा भट्ट निवासमा पसेर प्रहरीले २ अगस्टमा सोधपुछ गरेको थियो, जसमा उनले श्रीमतीसँग सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको बताएका थिए । ममता न्युयोर्क वा टेक्सासमा आफ्नो परिवारलाई भेट्न गएको उनको जवाफ थियो । तर, अभियोजकहरूले अमेरिकामा ममताको जैविक परिवार पुष्टि हुने कुनै नातेदार फेला नपरेको जनाएको छ । ममताले घरबाट निस्कनुअघि आफ्नो फोन नष्ट गरेको सोधपुछका क्रममा नरेशले दाबी गरेका थिए । 

आफूले ३१ जुलाई राति ममतालाई अन्तिमपल्ट देखेको उनले बताए । तर पछि उनी स्वयम्‌ले १ अगस्टको बिहान ममता घरमै रहेको भन्दै कुरा फेरेको अभियोजकको दाबी छ । तर, बचाउकर्ताले प्रश्नको समयसीमाका कारण तारिखमा विरोधाभाष देखिएको तर्क गरेका छन् । 

ममता घर नआउनु आफ्ना लागि कुनै नौलो कुरा नभएको नरेशको भनाइ थियो । किनकि, पहिला पनि कम्तीमा तीनपल्ट उनी घर छोडेर बाहिर गएको उनले बताए । 

भिडलाई सम्बोधन
१४ अगस्टमा नरेशले मानसस पार्क पुलिस स्टेसनबाहिर चिन्तित र आक्रोशित भिडलाई सम्बोधित गरे । भिडले उनीसँग ममताको मृत्युका बारेमा पर्याप्त जवाफ मागेको थियो । संक्षिप्तमा नरेशले भने, ‘तपाईंहरूले सकारात्मक तरिकाले जे गरिरहनुभएको छ, त्यसका लागि धन्यवाद ।’

केही घण्टापछि नरेशले प्रहरीलाई आफूहरूले रातिको खाना सँगै खाएको र अन्तिमपल्ट छोरीलाई हेर्दा ममता उनैको रेखदेखमा रहेको बताए । ‘बुधबार बेलुकी उनी घरमै थिइन् । उनी खाना बनाउँथिन्, भान्साको काम गर्थिन् । हामीबीच कुनै खास कुराकानी भएन । कुनै बहस वा भनाभन भएको थिएन ।’ 

कतिपयलाई रहस्यमय लागेको के भने, श्रीमती हराएपछि नरेशले सार्वजनिक रूपमा उनको खोजी गरेको पाइएन । 

२२ अगस्टमा समातिए
२१ अगस्टमा मानसस पार्क प्रहरीले नरेश भट्टले अनुसन्धानमा सहयोग गरिरहेको बताएको थियो । २२ अगस्टमा उनलाई हतकडी लगाएर घरबाट लगियो । शव लुकाएको आरोपमा उनलाई प्रिन्स विलियम काउन्टी एडल्ट डिटेन्सन सेन्टरमा राखियो । 

अनुसन्धानकर्ताका अनुसार, नरेशले १९ अगस्टमा आफ्नो टेस्ला कार बेचे भने गिरफ्तारीभन्दा अगाडि उनले आफ्नो घर बेच्ने प्रयास गरेका थिए । तर, उनको बचाउमा रहेकाहरूले नरेश आर्थिक संकटमा रहेकाले आफ्नो कार बेचेको र घर पनि बेच्ने प्रयास गरेको दाबी गरे । उनीहरूका अनुसार, श्रीमती बेपत्ता भएपछि छोरी हेर्नुपर्ने भएकाले नरेश काममा जान नपाएको, जसका कारण उनले कारका लागि १२ सय डलर र ऋणका लागि ६ हजार डलर तिर्नुपरेको थियो । 

तीनवटा चक्कु
अभियोजकहरूका अनुसार, ३० जुलाईमा नरेशले स्थानीय मार्टबाट तीनवटा चक्कु किनेर ल्याएका थिए । तीमध्ये दुई चक्कु फेला परेका छैनन् । अर्को दिन उनी अर्को मार्टमा सफाइ गर्ने सामग्रीहरू किन्दै गरेको भिडियोमा देखिएको अभियोजकको भनाइ छ । 

प्रिन्स विलियम काउन्टीकी न्यायाधीश लिसा एम। बेयर्डले नरेश समुदायका लागि खतरा हुने र उनी भाग्न सक्ने पर्याप्त प्रमाण भएकाले उनलाई हिरासतमै राख्नुपर्ने बताएकी छन् । 

मृत्यु, विवाह र कर्जाबारे ल्यापटपमा सर्च गरेका थिए 
अभियोजकको दाबीअनुसार, अप्रिलमा नरेशले आफूले काम गर्ने ल्यापटपमा श्रीमान् वा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ र श्रीमान् वा श्रीमतीको ऋण के हुन्छ भनेर खोजी गरेका थिए ।