मुना पाण्डे हत्या प्रकरण : यी हुन् प्रहरीले जुटाएका प्रमाण

मुना पाण्डे हत्या प्रकरण : यी हुन् प्रहरीले जुटाएका प्रमाण

काठमाडौं । अमेरिकाको ह्युस्टनमा २१ वर्षीया नेपाली किशोरी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी सिंह शाहको साथबाट प्रहरीले हतियार पनि बरामद गरेको खुलेको छ ।

अघिल्लो साता सोमबार अमेरिकी समयअनुसार बेलुकी साढे ५ बजे पाण्डेलाई उनको अपार्टमेन्टमै गोली हानी हत्या गरिएको थियो । प्रहरीले हत्यामा सर्भिलेन्स क्यामराको फुटेजका आधारमा एक जना संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनीबारे सूचना मागेको थियो ।

त्यसक्रममा प्रहरीले बबी सिंह शाह नामक व्यक्तिलाई पक्राउ गरेको छ । ह्युस्टन प्रहरी प्रवक्ताका अनुसार सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किंदै गरेको देखिएका व्यक्ति शाह नै थिए ।

प्रहरीले शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ । सीसी टीभीमा देखिएकै कपडा लगाएको अवस्थामा उनी पक्राउ परेको अदालतमा भएको सुनवाइका क्रममा अभियोजनकर्ता पक्षका वकिलहरुले जिकिर गरेका छन् ।


प्रहरीलाई उद्धृत गर्दै वकिलहरुले भनेका छन्, ‘दुई दिनपछि पक्राउ पर्दा पनि उनी रगतका छिटाहरु भएको कपडामै थिए, जुन पाण्डेको अपार्टमेन्टको सीसी टीभीमा पनि देखिएको थियो ।’

प्रहरी अधिकारीहरुले उनको कारमा पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोल पनि बरामद गरेको अभियोजक पक्षका वकिलहरुले अदालतमा बताएका छन् । ‘उनलाई तीन राउण्ड गोली हानिएको थियो, त्यसमध्ये एउटा पछाडिबाट टाउकोमा लागेको थियो’, अदालतमा भएको बहसमा वकिलहरुले भनेका छन् ।

अभियोजक पक्षका वकिलहरुले गरेको बहस सुनेपछि न्यायाधीशले बबीलाई जमानतमा छाड्न अस्वीकार गरेका छन् । बबी पक्षका वकिलहरुले भने शाह अदालतमा उच्च मनोबलका साथ उभिएको भन्दै उनी शतप्रतिशत निर्दोष रहेको दाबी गरेका थिए ।