योगेशमाथि संसद्‍बाटै लाग्यो हतियार तस्करीकाे आरोप, छानबिनको माग

योगेशमाथि संसद्‍बाटै लाग्यो हतियार तस्करीकाे आरोप, छानबिनको माग

काठमाडौँ । माओवादीले चलाएको १० वर्षे जनयुद्धलाई हिंसा भनेपछि नेकपा माओवादी केन्द्रका सांसदहरूले बिहीबार एमाले सांसद योगेशमाथि धावा बोलेका छन् । माओवादीबाट प्रतिनिधि सभा सदस्य छिरिङ डुम्डुल लामा (भोटे)ले एमाले सांसद भट्टराईले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको जस्तो संगीन र गम्भीर आरोप लगाए।

प्रतिनिधि सभाको शून्य समयमा सम्बोधन गर्दै भोटेले आफैँ हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले ‘महान् जनयुद्ध’लाई हिंसा भनेको भन्दै आपत्ति जनाए ।

सांसद भट्टराईले बुधबार माओवादी सशस्त्र विद्रोहलाई हिंसा भनेपछि दुई दलबीच सुरु भएको भनाभन र नोकझोंक रोकिएको छैन । ‘जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैँ हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो,’ माओवादी सांसद भोटेले आक्रोशित हुँदै भने ।

माओवादीकै अर्की सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले पनि योगेशमाथि आक्रोश पोखिन् । उनले योगेशमाथि लागेका आरोपबारे छानबिन हुनुपर्ने माग गरिन् । ‘एकजना माननीयले जनयुद्धकालमा उहाँ (योगेश) लाई हतियार खरिद–बिक्री र ओसारपसार गरेको आरोप लगाउनु भएको छ । यसबारे उचित छानबिनका लागि संसद्को गम्भीर ध्यानाकार्षण गराउँछु ।’