गाडी दुर्घटनामा गाउँपालिकाका उपाध्यक्षको मृत्यु, २३ जना घाइते

गाडी दुर्घटनामा गाउँपालिकाका उपाध्यक्षको मृत्यु, २३ जना घाइते

 सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।  

सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा उपाध्यक्ष कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।  कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सडक छेउको नालामा खस्दा अन्य २३ जना घाइते भएका डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए। 

‘दुर्घटनामा परेर  उपाध्यक्ष कार्की  गम्भीर घाइते  भएका थिए,’ डीएसपी विश्वकर्माले  भने, ‘नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारको क्रममा गएराति पौने २ बजे उनको मृत्यु भएको हो।’ 
 
३९ वर्षीय कार्की माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष निर्वाचत भएका थिए। उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका पति हुन्। कार्की माओवादी केन्द्रको कर्णाली  प्रदेश समिति सचिवालय सदस्य थिए । दुर्घटनामा घाइते भएका अन्य २३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको विश्वकर्माले बताए। अरु घाइते सबै खतरामुक्त छन्।