काठमाडौं। हालै सम्पन्न स्थायी कमिटी बैठकपछि नेकपा (माओवादी केन्द्र) ले पार्टीपंतिमा सर्कुलर जारी गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले जारी गरेको परिपत्रमा पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्न थालेको उल्लेख छ।
व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्दा नीजि स्वार्थ समूहहरूको गुट-उपगुटहरू पनि क्रियाशील भइरहेको माओवादी बैठकको निश्कर्ष छ। विधान र विधि पद्धतिलाई अवलम्बन गर्ने कुरा कमजोर बन्दै जाँदा पार्टीभित्र अराजक स्थिति पैदा भएको माओवादीको स्वीकारोक्ति छ।
त्यस्तै, माओवादीले सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भन्दै नेता कार्यकतालाई तयारी अवस्थामा रहन पनि परिपत्र गरेको छ। प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार झनझन अगाडि बढेमा सडक आन्दोलन आवश्यक्ता पर्ने परिपत्रमा उल्लेख छ।
साथै, माओवादीले कांग्रेस-एमालेबीचको ७ बुँदे सहमतिलाई प्रश्चगामी र प्रतिगामी कदमको संज्ञा दिएको छ। माओवादीले प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षणको विरोध र जनताका दैनिक समस्यालाई सदनमा सशक्त रुपमा उठाउने परिपत्रमा उल्लेख छ । सदनमा खबरदारी गर्दागर्दै सरकार झनझन प्रतिगमनतिर अगाडि बढेमा सडक आन्दोलनबाहेक अर्को विकल्प नहुने माओवादीको ठहर छ।