जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा भक्तजनको घुइँचो (तस्बिरहरु)

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा भक्तजनको घुइँचो (तस्बिरहरु)

रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । आज बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।  

जनैपूर्णिमाको दिन पूजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् । 

भक्तजन स्नानका लागि निलाद्री पर्वत जानेक्रम जारी रहेको समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिए । लाङ्टाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले गोसाइँकुण्ड आएका तीर्थयात्रीलाई निकुञ्जद्वारा सहजीकरण भैराखेको बताए । 

तीर्थस्थलमा भक्तजनको चाप बढ्ने भएका कारण प्रहरी निरीक्षकको कमाण्डमा यथेष्ट सुरक्षा गस्ती परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले बताए । 

लेक लागेका यात्रीलाई हिमालय उद्वार संघले गोसाइँकुण्डमा स्वास्थ्य शिविर मार्फत् प्राथमिक उपचार गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बिरामी परी जोखिम अवस्था पुगेकालाई उद्वार टोली तयारी अवस्थामा राखिएको बताए ।  

तीर्थयात्रीका लागि १३० बस, ३०५ जिप, कार, भ्यान र १२० मोटरसाइकल गोसाइँकुण्ड गाउँपालिका–६ ले व्यवस्थापन गरेको पार्किङभित्र रहेको प्रहरीले जनाएको छ । 

यस्तै यात्रुका लागि नपुग सवारीसाधन निजी क्षेत्रको यातायात व्यवस्था गर्ने चेम्बर अफ कमर्सले जनाएको छ । कमर्सका अध्यक्ष सञ्जीव अमात्यले यात्रीमाझ यातायात व्यवस्था थप मजबुत पार्न निजी क्षेत्रका बस, टाटासुमो तथा माइक्रो बसको व्यवस्था गरेका कारण यात्रामा समस्या नआउने बताए ।