युवासंघ र तरुण दलका व्यक्तिबीच खुकुरी हानाहान, दुईजना गम्भीर घाइते

युवासंघ र तरुण दलका व्यक्तिबीच खुकुरी हानाहान, दुईजना गम्भीर घाइते

काठमाडौं । पछिल्लो समय बाँकेमा सुरक्षा चुनौती बढ्दै गएको छ । बाँकेमा केही दिनअघि राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का सूचक कुटिएका थिए । त्यहाँ फेरि अर्को घटना भएको छ ।

बाँकेमा आपराधिक पृष्ठभूमिका दुई समूहबीच ‘ग्याङ फाइट’ भएको हो । बैजापुरमा भएको ग्याङ फाइटका क्रममा दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैजापुरका २८ वर्षीय सुलभ मल्ल र २८ वर्षकै सन्दीप विष्ट छन् । उनीहरू दुवैजनाको अवस्था गम्भीर छ ।

दुवैजनालाई उपचारका निम्ति भारतको लखनऊ लगिएको छ । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं एसपी तुलबहादुर कार्कीले बताए । प्रहरीका अनुसार, घाइते मल्लको बायाँ कोखामा गम्भीर चोट लागेको छ । विष्टको दुवै हातका कुमतर्फको भागमाथि छिनालिएको छ । घटनाको अनुसन्धानका निम्ति चारजनालाई पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा बाँकेकै राप्तीसोनारी गाउँपालिका–२ का ३४ वर्षीय ज्ञानेन्द्र वली, सोही ठाउँका रत्नबहादुर भण्डारी, वामे भनिने सन्दीप वली र दाङको घोराहीका विशाल बस्नेत छन् । उनीहरू चारैजना नेकपा (एमाले)निकट युवासंघमा आबद्ध रहेका खुलेको छ ।

घाइेत दुवैजना नेपाली कांग्रेसनिकट तरुण दलमा आबद्ध युवा हुन् । घटनाको विरोधमा तरुण दलमा आबद्ध व्यक्तिले आइतबार नेपालगन्जमा प्रदर्शन समेत गरेका छन् ।