काठमाडौँ । निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिरीको उपनिर्वाचनको तयारीमा जुटेको छ ।आयोग आउँदै मंसिर तेस्रो साता उपनिर्वाचन गर्नेगरी आन्तरिक तयारीमा जुटेको हो ।
निर्वाचनको मितिबारे सरकारलाई सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने खर्चको विश्लेषण गरी नेपाल सरकारसँग बजेट सुनिश्चिताको प्रयास गर्नेजस्ता तयारीमा निर्वाचन आयोग जुटेको छ ।
निर्वाचन आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा अगामी मंसिर तेस्रो साता निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।स्थानीय तह निर्वाचन ऐन २०७३ मा आयोगको सुझावका आधारमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने प्रावधान रहेको छ ।
आयोगले रिक्त रहेका स्थानीय तहलाई लक्षित गरी मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि नै आह्वान गरिसकेको छ । उप निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता स्वतः बन्द हुने कानुनी व्यवस्था छ ।
निर्वाचन आयोगका अनुसार हाल स्थानीय तहका ३५ पदाधिकारी रिक्त रहेका छन् । गाउँ पालिकाका अध्यक्ष २ जना, उपाध्यक्ष २ जना, प्रमुख र उपप्रमुख १–१ जना र वडाअध्यक्ष २९ जना गरी ३५ पद रिक्त रहेका छन् ।
कोशी प्रदेशअन्तर्गतको ग्रामथान गाउँपालिकाका अध्यक्ष र कर्णालीको महाबु गाउँपालिकाका अध्यक्षको पद रिक्त छ ।
त्यसैगरी किर्तिपुर नगरपालिका प्रमुख र कर्णालीका नलगाड नगरपालिकाका उपप्रमुख पद रिक्त रहेको छ ।