गट्ठाघरमा भएको घातक दुर्घटनापछि उठेका केही प्रश्न

गट्ठाघरमा भएको घातक दुर्घटनापछि उठेका केही प्रश्न

काठमाडाैं। अरनिको राजमार्गअन्तर्गत कोटेश्वर र सूर्वविनायकबीचको फराकिलो सडकमा नियमित यात्रा गर्नेहरूका लागि सडक किनार वा बीचमा रहेको झाडीमा छेलिएर सवारीको गति मापन गर्ने ‘रेडार गन’ तेर्स्याइरहेका ट्राफिक प्रहरी ठाउँठाउँमा देखिनु नौलो होइन।

अधिकतम ५० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा सवारी चलाउन रोक लगाइएको यो सडकखण्डमा यसरी छेलिएर बसेका ट्राफिक प्रहरीहरूले दैनिक कैयौँ सवारीचालकलाई जरिबाना र कारबाही गरिरहेका छन्।

ट्राफिक प्रहरीका अनुसार गएको आर्थिक वर्षमा मात्रै ट्राफिक नियम उल्लंघनका २४ लाख वटा घटनामा कारबाही भएको छ।

यो राजमार्गअन्तर्गत भक्तपुरको गट्ठाघरमा बिहीवार तीव्र गतिमा सवारी चलाउने चालकलाई रोक्न बसेका ट्राफिक प्रहरीकै छेउमा ट्रकको ठक्करबाट स्कूटरचालकको मृत्यु भयो।

उक्त दुर्घटना ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा भएको भन्दै आक्रोशित भिडले ट्राफिक प्रहरीको 'आइल्यान्ड' तोडफोड गर्नुका साथै लामो समयसम्म अरनिको राजमार्ग अवरुद्ध गर्‍यो।

“सडकमा अचानक स्कूटर रोकिएपछि पछाडिबाट आएको ट्रकले ठक्कर दिएको” समाचार सरकारी संस्था राष्ट्रिय समाचार समितिले समेत प्रकाशित गरेपछि धेरैले ट्राफिक प्रहरीमाथि आक्रोश व्यक्त गरे।

ट्राफिक प्रहरीका प्रवक्ता विश्वराज खड्काले उक्त दुर्घटनामा ट्राफिक प्रहरीको सवारी जाँच जिम्मेवार नरहेको स्पष्टीकरण दिएका छन्।

कसरी भयो दुर्घटना
“ट्राफिक नभएको होइन त्यहाँ, बसेको छ। बरु पछि उद्धार गर्न गएको छ। धेरै गाडीहरू चलेका छन्, ट्रक स्कूटर दुवैलाई रोकेको देखिएको छैन। ओभरटेक गरेपछि दुर्घटना भएको देखिन्छ,” खड्काले  भने।

शुक्रवार सार्वजनिक भएको दुर्घटनाको समयको सीसीटीभी क्यामरामा कैद दृश्यमा पनि उक्त स्कूटर र ट्रकलाई प्रहरीले रोकेको भने देखिँदैन।

उक्त घटनापछि ट्राफिक प्रहरीले सडकमा बसेर गर्ने सवारी जाँचको शैलीबारे सामाजिक सञ्जाल र सार्वजनिक सञ्चारमाध्यममा बहस भने सुरु भएको छ।

प्रहरीले आफ्नो जाँचका कारण दुर्घटना नभएको स्पष्टीकरण दिए पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ट्राफिक प्रहरीले सडकमा गर्ने जाँच सवारीचालक र ट्राफिक प्रहरी दुवैका लागि कति जोखिमपूर्ण छ भन्नेबारे बहस भइरहेको छ।

बीबीसी नेपाली

प्रहरीका अनुसार ट्रकलाई उछिनेर गति कम गरेको स्कूटरलाई ट्रकले ठक्कर दिएको थियो।

“स्कूटरचालकलाई प्रहरीले चेकजाँचका क्रममा रोकेको छैन। ट्राफिक प्रहरीकै छेउबाट ट्रकको अगाडि जानुहुन्छ र अगाडि गइसकेपछि उहाँको गति थोरै कम भएको र ट्रकसँगको दूरी एकदमै कम भएको देखिन्छ र ट्रकले ठक्कर दिएको देखिन्छ,” प्रवक्ता खड्का भन्छन्।

कतिपयले सडकमा सुव्यवस्था कायम गर्ने भन्दा जरिबाना गराउने उद्देश्यले मात्रै जाँच गर्ने गरेको आरोप प्रहरीमाथि लगाएका छन्।

विवेकशील साझा पार्टीको महासचिव समेत रहेकी अभियानकर्मी रञ्जु दर्शनाले प्रहरीले सडकमा गर्ने चेकजाँचबारे प्रश्न उठाउँदै सामाजिक सञ्जाल 'एक्स'मा उनले लेखेकी छन्, “ ट्राफिक प्रहरी लुकामारी खेले जसरी हाइवे सडकमा बस्न हुँदै हुँदैन। अगाडि चेकिङ हुँदै छ भन्ने साइनबोर्ड राख्दा के को पीर हो? गट्ठाघरमा आज भएको बीभत्स दुर्घटनाको सबै कोणबाट अनुसन्धान होस् र नेपालमा ट्राफिक प्रहरीले अपनाएको शैलीमा परिवर्तन होस्।”

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्राफिक प्रहरीलाई राजस्व उठाउने दबावका कारण लुकेर जाँच गर्ने र जरिबाना गराउने गरेको आरोप लगाएका छन्।

कतिपयले चाहिँ सवारीचालकहरू जिम्मेवार हुन जरुरी रहेको औँल्याएका छन्। अधिवक्ता समेत रहेका धर्मानन्द जोशीले 'एक्स'मा लेखेका छन्, “छापामार शैलीमा चेकिङ गर्ने वा ढुकेर फिशिङ गर्ने ट्राफिक प्रहरी हामीले चाहेका हैनौँ। त्यस्तै सदैव बलमिच्याइँ र हतार गरी हिँड्ने ट्याक्सी, माइक्रोबस, टिपर, बस र बेलगाम मोटरसाइकल/स्कूटी ड्राइभरहरू पनि सुध्रिनु/सुधारिनु जरुरी छ। सडकहरू खत्तम छन्।”

“हिजो एक सपनाको, एक भरोसाको अकालमा, अनाहकमा ज्यान गयो। जिम्मेवारी कसले लिने? प्रम, यातायातमन्त्री, गृहमन्त्री र प्रहरी सङ्गठनले? हे राम।”

ट्राफिक प्रहरीका प्रवक्ता खड्का चाहिँ आफूहरूको जाँचका कारण दुर्घटना न्यूनीकरण भएको दाबी गर्छन्।

“राजधानीमा सवारी चाप बढेको छ। तीव्र गतिका कारण धेरै दुर्घटनाहरू पनि बढेका छन् र मानिसहरूको मृत्यु पनि भएको छ,” खड्का भन्छन्।

“जनचेतनासँगै जरिबाना वा ट्राफिक कारबाही गरेर पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।”

सवारीसाधनहरूको उच्च चाप हुने चोक तथा सडकहरूमा ट्राफिक लाइट जडान नहुँदा र भएका पनि समयसमयमा बिग्रिने हुँदा ट्राफिक प्रहरीहरूले सडकमा उभिएरै सवारी साधनको व्यवस्थापन गर्दै आएका छन्।

गत फागुनमा कोटेश्वर चोकमा ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी सहायक निरीक्षक टोपबहादुर खत्रीको बसको ठक्करबाट मृत्यु भयो। ट्राफिक प्रहरी प्रवक्ता खड्काका अनुसार जाँचका क्रममा उक्त बसका चालकले लागुपदार्थ सेवन गरेको पाइएको थियो।

गत चैतमा काठमाण्डूबाट काँकरभिट्टा जाँदै गरेको बसको ठक्करबाट बाराको अमलेखगन्जमा सडकमा खटिएका ट्राफिक प्रहरीको मृत्यु भयो।

त्यसअघि मङ्सिरमा बाँकेको मदनचोकमा सडकमा गाडी रोक्ने क्रममा जीपको ठक्करबाट एक ट्राफिक प्रहरीको मृत्यु हुनुका साथै एक जना घाइते भए। त्यही महिना सर्लाहीको हरिवनमा सडकमा खटिएका अर्का एक ट्राफिक प्रहरी बसको ठक्करबाट गम्भीर घाइते भए।

ट्राफिक प्रहरीका अनुसार सडकमा सवारी आवागमन व्यवस्थापन गर्ने क्रममा बर्सेनि कैयौँ ट्राफिक प्रहरीहरूको ज्यान जाने गरेको छ। यद्यपि प्रहरी प्रवक्ताले त्यसको स्पष्ट तथ्याङ्क उपलब्ध गराउन सकेनन्।

यातायात व्यवस्थापनविज्ञ आशिष गजुरेल प्रविधिको प्रयोग नहुँदा ट्राफिक प्रहरी र सवारी चालक दुवै जोखिममा रहेको बताउँछन्।

“बाहिर जानुहुन्छ भने सीसीटीभी र सेन्सरहरू जडान गरिएका हुन्छन्। तपाईँले तीव्र गतिमा चलाउनुभयो भने क्यामराले खिचिहाल्छ तपाईँको घरमा टिकट आउँछ त्यहाँबाट प्रक्रिया अघि बढ्छ,” विकसित देशहरूको उदाहरण दिँदै उनले भने।

“हाम्रोमा चाहिँ प्रविधिमैत्री छैनौँ। ट्राफिक लाइट पनि पर्याप्त छैन। हामी प्रविधिमैत्री हुन्थ्यौँ भने यो समस्या हुँदैनथ्यो,” उनी भन्छन्।

ट्राफिक प्रहरीले चक्रपथको विस्तार भएको क्षेत्रमा ठाउँठाउँमा सडकमा स्वचालित क्यामराहरूमार्फत् सवारीको गति मापन र निगरानी गर्ने गरिएको बताएको छ। तर नियम उल्लङ्घन गर्ने चालकलाई रोक्न र जरिवाना गर्न ट्राफिक प्रहरीहरू सडकमै बस्ने गरेका छन्।

ट्राफिक प्रहरीका प्रवक्ता खड्का नेपालमा पनि प्रविधि भित्र्याउने पहल भइरहेको भए पनि बजेटको अभाव रहेको बताउँछन्।

“विदेशमा रहेका नेपालीहरूले पनि विदेशमा जस्तो प्रणाली नेपालमा लागु पर्नुपर्‍यो भनेर सुझावहरू आइरहेका छन्। हामीले पनि प्रविधिको माग गरेका छौँ। कुनै बजेटमा छ कुनै प्रक्रियामा छ कुनै माग गरेका छौँ,” उनले भने।

कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सडकछेउमा छलिएर जाँच गर्ने प्रहरीको शैलीको आलोचना गरेका छन्।

ट्राफिक प्रहरीका प्रवक्ता खड्का पनि त्यसो नगर्न आफ्नो सङ्गठनलाई निर्देशन दिइएको बताउँछन्।

उनले लुकेर जाँच गर्ने नीति ट्राफिक प्रहरीको नरहेको बताए। “यदि हामीमा लुकेर ढुकेर बसेर कारबाही गर्ने किसिमका काम ट्राफिक प्रहरीले गरेका छन् भने हामीले पनि सुधार गर्न जरुरी छ,” उनी भन्छन्।

“हामीले देखिने गरी बोर्ड राखेर बस्ने र आफू सुरक्षित तरिकाले चेकिङ गर्ने निर्देशन दिइरहेका हुन्छौँ, आमनागरिकमा सवारी आवागमनमा सहजता बनाउने नै ट्राफिक प्रहरीको मुख्य उद्देश्य हो।”

यातायात व्यवस्थापनविज्ञ गजुरेल पनि यस्तो गर्नु उचित नभएको ठान्छन्। सम्बन्धित सरकारी निकायहरूले सडकमा पर्याप्त ट्राफिक सङ्केतहरू राख्नुपर्ने र प्रविधिको व्यवस्थापन गरिदिनुपर्ने उनको मत छ।

ट्राफिक प्रहरीको खटाइको प्रशंसा गर्नेहरू पनि छन्। त्यसमध्येका एक गजुरेल प्रहरीले चेक जाँच नगर्ने हो भनेर अझै धेरै दुर्घटना हुने बताउँछन्।

“आज पनि प्रहरीले चेकजाँच नगर्ने हो भने आज जति दुर्घटना भइरहेको छ त्योभन्दा धेरै गुनाले दुर्घटना बढ्छ र धेरै गुनाले मृत्युदर पनि बढ्छ। यसले धेरै जनाको ज्यान बचेको छ,” गजुरेल भन्छन्।

“अहिले काठमाण्डू उपत्यकामा हेर्ने हो भने हरेक दिन २,००० जना जरिवानामा पर्नुहुने रहेछ अनि उहाँहरूलाई रिस उठ्ने र ट्राफिक प्रहरीलाई गाली गर्ने गरिरहनुभएको छ।”

उनी विश्वका अन्य देशहरूमा पनि ट्राफिक प्रहरीले जरिवाना गराउने प्रचलन रहेको बताउँछन्।

“हामी नियम पालना गरिदिऔँ, त्यसो गरे त जरिबाना तिर्नैपर्दैन नि। तपाईँले तीव्र गतिमा चलाउनुहुन्छ, नियम पालना गर्नुहुन्न भने त जरिबानाको भागिदार हुनुहुन्छ त,” उनले भने।