काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले आफ्नो नाम जोडेर खोलिएका अनधिकृत सामाजिक सञ्जाल (फेसबूक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पुनः आग्रह गरेकी छन्।
उपमेयर डंगोलले ब्युरोलाई पत्रमार्फत पुनः आग्रह गरेको उनको सचिवालयले बुधवार विज्ञप्तिमार्फत जनाएको छ। एआई प्रविधिबाट तस्वीर र भिडियो एनिमेसन गरेर सामाजिक सञ्जालमा पोस्ट गरी आफ्नो चरित्रहत्या भइरहेको उपमेयर डंगोलको गुनासो छ।
यसअघि पनि त्यस्ता पेजहरु बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द नभएको र विभिन्न खाले सामाग्री प्रकाशन भैरहेको भन्दै डंगोलको सचिवालयले पुन ब्यूरोलाई आग्रह गर्दै पत्र लेखेको छ।
‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेशन गरी सामाजिक सञ्जालहरुमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरु हाटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरुलाई कानूनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु’, डंगोलका सचिवालय प्रमुख सौरभ गौतमको हस्ताक्षरसहितको पत्रमा उल्लेख छ।