माछाभात खाएर बिरामी परेका एकै परिवारका तीन बालबालिकाको मृत्यु

माछाभात खाएर बिरामी परेका एकै परिवारका तीन बालबालिकाको मृत्यु

बारा । बारामा विषाक्त खानेकुरा खाएर विरामी परेका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ झवानीटोलका नरेश रामका तीन जना छोराछोरीको विषाक्त खानेकुरा खाएर मृत्यु भएको डाक्टरको प्रारम्भिक रिपोर्टले देखाएको प्रहरीले जनाएको छ। शनिबार बेलुकी माछा र भात खाएर सुतेका नरेशका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन राम बिरामी परेका थिए।

 उपचारका क्रममा सोमबार तीनै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले बताए। उनका अनुसार शनिबार बेलुकी गाउँकै पोखरीमा माछा मारेर स्थानीय व्यापारीले गाउँलेलाई बेचेका थिए। गाउँको पश्चिमतर्फ रहेको पोखरीबाट व्यापारीले मारेर ल्याएका उक्त माछा ४०/५० घरपरिवारले किनेका थिए। तीमध्ये माछा र भात खाएर सुतेका नरेशका तीनजना छोराछोरीलाई राति नै पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेको प्रहरीलाई परिवारजनले बताएका छन्।

सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुरूलाई त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। कलैयाबाट चिकित्सकले थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज अस्पतालमा रिफर गरेका थिए। ‘लालिमाको अवस्था पहिलेदेखि बढी नै चिन्ताजनक थियो। तीनै जनालाई कलैयाबाट वीरगञ्ज लाँदै गर्दा उनको बाटोमै मृत्यु भयो। दुई जना बालकको उपचारको क्रममा आइतबार राति मृत्यु भयो,’ सिम्रौनगढ वडा नम्बर ७ का अध्यक्ष विवेक मेहताले भने। 

तीनै जनाको शव सोमबार कलैया अस्पतालमा पोस्टमर्टम गरी सदगद् गरिएको प्रहरी निरीक्षक राईले बताए।  गाउँले एवं परिवारजनले माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको आशंका गरेका छन्। तर त्यही माछा–भात खाएका मृतकका आमा, बाजे, बज्यै र अन्य गाउँलेलाई केही नभएको प्रहरी निरीक्षक राईले बताए। 

‘राति बालबालिकाका आमाले नै माछा र भात पकाएर परिवारका सबैजनालाई खुवाएकी हुन्। तर अरू कसैलाई केही भएको छैन। गाउँका अरू मान्छेलाई पनि केही भएको छैन। आमाले बजारबाट वा कतैबाट ल्याएर अरू पनि केही खुवाएकी छन् कि भन्ने खुलिसकेको छैन। आमा मूर्छित अवस्थामा छिन्। बोल्नसक्ने अवस्थामा छैनन्। स्थिति समान्य भएपछि हामी सोध्छौं,’ प्रहरी निरिक्षक राईले भने।

उनका अनुसार कलैयास्थित उपचारमा संलग्न डा‍। अशोक गुप्ताले बालबालिकाको मृत्यु ‘फुड पोइजनिङ’ कै कारण भएको बताएका छन्। ‘तर के खाँदा पोइजनिङ भएको खुलिसकेको छैन। डाक्टरले ‘अनडिटरमाइन्ड पोइजनिङ’ भनेका छन्। हामीले उनीहरूको भिसेरा पनि निकालेका छौं। प्रयोगशालामा पठाएपछि के रिर्पोट आउँछ अनि ठ्याक्कै मृत्युको कारण पत्ता लाग्छ,’ उनले भने। 

वडाध्यक्ष मेहताका अनुसार मृतक बालबालिका शुक्रबार गाउँकै मेला हेर्न समेत पुगेका थिए। मेलामा उनीहरूले जेरी लगायत खानेकुरा पनि खाएका थिए। ‘माछाकै कारण फुड पोइजनिङ भएको भए उनकै परिवारका सदस्य अथवा गाउँका अरू मान्छे पनि बिरामी पर्थे। हामीलाई लाग्छ, मेलाको खानेकुरा र माछा सबै खाएर फुड पोइजनिङ भएको हो। तर वास्तविक कुरा प्रहरी अनुसन्धानमै खुल्छ,’ उनले भने। 

मृतकका परिवार विपन्न छन्। मृतक बालबालिकाका बुवा नरेश मजदुरीको सिलसिलामा भारतको दिल्लीमा छन्।  परिवारको दयनीय अवस्था देखेर तत्कालका लागि आफूले १० हजार रुपैयाँ सहयोग गरेको वडाध्यक्ष मेहताले बताए।