नेपालमा ११० हवाई दुर्घटना: ९६५ को मृत्यु

नेपालमा ११० हवाई दुर्घटना: ९६५ को मृत्यु

सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्ता नपुग्दै बुधबार एयर डाइनेस्टीको ९ एन–एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको छ।

हिजो दिउँसो १ बजेर ५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो। दिउँसो २ बजेर १४ मिनेट जाँदा नुवाकोटको शिवपुरी गाउँपालिका–सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। 

सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न हिजै तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ। यसअघि साउन ९ गते सौर्य एयरलाइन्सको सिआरजे ७-९एन–एएमइ) कलसाइन विमान स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो। चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भयो भने पाइलट मात्रै बाँचे।

यसअघि १४ अक्टोबर सन् २०२३ मा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो। सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको ‘एन–एनजे’कलसाइन हेलिकप्टर जिल्लाको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो। तीन महिनामा दुई हेलिकप्टर दुर्घटना भएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको थियो।
चालिसौँ हेलिकप्टर दुर्घटना

प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट’ अनुसार नेपालको हवाई इतिहासमा कूल एक सय १० हवाई दुर्घटनामा नौ सय ६५ जनाको मृत्यु भएको छ। यो हेलिकप्टर र विमान दुवै दुर्घटनाको विवरण हो। 

नेपालमै पहिलो पटक सन् १९७९ मा लाङ्टाङमा हेलिकप्टर दुर्घटना भएको थियो। लाङ्टाङमा भिभिआइपी हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भयो। त्यसयता आजको हेलिकप्टर दुर्घटना एक सय १०औँ दुर्घटना हो। 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार आजको हेलिकप्टर दुर्घटनासहित हालसम्म नेपालमा विभिन्न हेलिकप्टर कम्पनीका ४१औँ दुर्घटना हो। ती दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ। उनले नेपालमा एकपछि अर्को हवाई दुर्घटनाले प्राधिकरणलाई गम्भीर बनाएको बताए। उनले हवाई सुरक्षालाई प्रभावकारी बनाउन थप सक्रियता अपनाउने विश्वास व्यक्त गरे।

प्राधिकरणको विवरणमा एक सय १० दुर्घटनामध्ये ५१ मल्टिइञ्जिन विमान दुर्घटनामा चार सय ६९, आठ सिङ्गल इञ्जिन विमान दुर्घटनामा २५ र ४१ हेलिकप्टर दुर्घटनामा ९८, विदेशमा दर्ता भएका १० वायुयान दुर्घटनामा तीन सय ७३ को मृत्यु भएको छ।
 
हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जियो
एकपछि अर्को हवाई दुर्घटनाले मुलुकको समग्र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएको छ। पछिल्ला दिनमा मुलुकको हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल चलिरहेका सन्दर्भमा आज भएको हवाई दुर्घटनाले पुनः यो क्षेत्रलाई पुनःतरङ्गीत बनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जिव गौतमले एकपछि अर्को हवाई दुर्घटनाले समग्रमा नेपालको नागरिक उड्डयन क्षमतामा समस्या छ भन्ने पुष्टि भएको उल्लेख गर्दै यसलाई सुधार्न नीतिगत र संरचनागत परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।

‘आजसम्म जति पनि हवाई दुर्घटना भएका छन् ती सबै दुर्घटनाले नेपालमा एभिएसन सेफ्टीमा समस्या छ भन्ने सङ्केत गरेको छ’, उनले भने, ‘हवाई उड्डयन सुरक्षा हिजो पनि समस्या थियो, अहिले झनै समस्या देखिएको छ, त्यसैले नेपालको समग्र ‘सेफ्टी ओभरसाइड क्यापाबिलिटी इनह्यान्स’ गर्नुपर्छ, त्यसका लागि सरकारले नीतिगत रुपमा केके काम गर्नुपर्ने हो त्यसतर्फ ध्यान दिन जरुरी छ।’
        
बारम्बारको हवाई दुर्घटनाले मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही देखिएको हवाई विज्ञ अच्युत पहाडीले बताए। 

‘दुई सातामै दुई वटा दुर्घटना हुनुभएको दुर्भाग्य हो, तुलनात्मक रुपमा सुरक्षित मानिएको हवाई सेवा सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ’, उनले भने, ‘नेपालका सबै एयरलाइन्सको, टेक्निकल अडिट, फाइनान्सियल अडिट र अप्रेसनल अडिट सुक्ष्म रूपमा नगर्ने हो भने छिट्टै अरु दुर्घटना निम्तने खतरा छ, त्यसैले सबै एयरलाइन्सको प्रभावकारी नियमन गर्न प्राधिकरण पनि गम्भीर बन्नुपर्छ।’

विज्ञ पहाडीले हवाई सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकलाई चाँडो पारित गरेर नियामक र सेवा प्रदायकका रूपमा बनाउन अपरिहार्य भइसकेको उल्लेख गरे।