तीन जना सवार मोटरसाइकल दुर्घटना , एकको मृत्यु, २ जना गम्भीर घाइते

तीन जना सवार मोटरसाइकल दुर्घटना , एकको मृत्यु, २ जना  गम्भीर घाइते

इलाम । इलाममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा आज साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो।

तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो।अन्य दुई गम्भीर घाइते भएको लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिए।

मोटरसाइकल चालक माई नगरपालिका–१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन्।विनोदको टाउको र बाँयाँ खुट्टामा गम्भीर चोट लागेको छ भने रोशनको बायाँ हात र मुखमा चोट लागेको छ। उनीहरु दवैको झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए। मोटरसाइकल लोदिया प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।