ओली मन्त्रिपरिषदमा दलित समुदायबाट पहिलो मन्त्रीको प्रवेश, को हुन् रुपा बिक ?

ओली मन्त्रिपरिषदमा दलित समुदायबाट पहिलो मन्त्रीको प्रवेश, को हुन् रुपा बिक ?

काठमाडौं । केपी ओली नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएसँगै दलित समुदायको पनि प्रतिनिधित्व भएको छ । नेपाली कांग्रेसकी समानुपातिक सांसद रुप बिक राज्यमन्त्री बनेकी हुन् ।

यसअघि २२ सदस्यीय मन्त्रीपरिषदमा दलित अनुहार अटाउन सकेका थिएनन् । सरकारले जातीय समावेशीतालाई ध्यान नदिएको भनेर आलोचनासमेत खेप्नु परेको थियो ।मन्त्रिपरिषद पूर्णं (२५ सदस्यीय) भएसँगै दलित सहभागीता भएको हो । फुलमन्त्री नभए पनि राज्यमन्त्रीका रुपमा रुपाले सरकारमा दलित वर्गको प्रतिनिधित्व गर्नेछिन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित १३४ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दा कान्छी केन्द्रीय सदस्य भनेर चर्चित बनेकी थिइन् पाल्पाकी रुपा । कांग्रेस केन्द्रीय सदस्य बन्दा ३५ वर्षकी रुपा अहिले ३६ वर्षमा हिँडिरहेकी छन् ।

रुपा आफूलाई जन्मजात कांग्रेस बताउने गर्छिन् । उनका बुबा पूर्वगाविस अध्यक्ष थिए । बीपी कोइरालाका पुस्तक र उनको विचारबाट प्रेरित भएर कांग्रेसप्रति रुझान बढेको उनको भनाइ छ । नेपाल विद्यार्थी संघबाट उनले सक्रिय राजनीति थालेकी हुन् ।

कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा उनी प्रतिनिधिको रुपमा सहभागी थिइन् । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भइन् । १४ औं महाधिवेशनमा भने विजयी बनिन् । उनी शेरबहादुर देउवाको प्यानलबाट दलित कोटामा निर्वाचित भएकी हुन् ।

रुपालाई २०७९ साल मंसिरको निर्वाचनपछि कांग्रेसले समानुपातिक सूचीमा राखेको थियो । उनी दलित कोटामा समानुपातिक सांसद बनेकी थिइन् ।