काठमाडौंको ढल्कोमा युवाको ज्यान जाने गरी झडप हुनुको यस्तो रहेछ कारण

काठमाडौंको ढल्कोमा युवाको ज्यान जाने गरी झडप हुनुको यस्तो रहेछ कारण

काठमाडौँ । काठमाडौंको ढल्कोमा बुधबार अपराह्न पौने ४ बजेतिर छिमेकीबीच झडप भयो।काठमाडौं महानगरपालिका वडा नम्‍बर १७ पोडेटोलस्थित २ नम्बर गल्लीमा छिमेकीहरूबीच झडप हुँदा एक जनाको मृत्यु भयो, ६ जना घाइते भएका छन्।

सोही ठाउँ बस्ने ३३ वर्षीय अनित पुजारीले ज्यान गुमाएका छन्। उनीमाथि खुकुरी प्रहार भएको थियो।झडपमा सुवीन्‍द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, बिक्रम पुजारी र अमृत पुजारी घाइते छन्। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अमृत पुजारी, सागर देउला, रवीन्द्र पोडे, कलेनी पुजारी, टीकामाया पुजारी र सञ्जाली पुजारीलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार छिमेकीहरूबीच भएको पुरानो रिसइबीका कारण झडप भएको देखिन्छ।

किरण, सुवीन्द्र, रवीन्द्र दाजुभाइहरू हुन्। दिनेश, बिक्रम, अमर, अनित अर्को परिवारका छन्।  प्रहरी वृत्त सोह्रखुट्टेका अनुसार किरणमाथि केही दिनअघि कुटपिट भएको थियो । वडा नम्‍बर १७ मा रहेको इन्द्रायणी मन्दिरमा साउन १४ गते किरणमाथि कुटपिट भएको थियो। मन्दिर परिसरमा मर्मत सम्भारको काम भइरहेको थियो।

मर्मत भइरहेको ठाउँमा मन्दिर परिसरमा बसोबास गर्नेले कुल्चिएको प्रहरीले जनाएको छ। त्यही विषयमा विवाद सुरू भएपछि त्यहाँ रहेका एक समूहले उनीमाथि कुटपिट गरेका थिए। जसपछि प्रहरी वृत्त सोह्रखुट्टेले एक जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि दिनेश, बिक्रम, अमर, अनित, लगायतले आफ्नो मान्छेलाई किरणले पक्राउ गर्न लगाएको भन्ने रिस रहेको खुलेको हो।

यसैबीच दुई छिमेकबीच पारिवारिक सम्बन्ध पनि नराम्रो रहेको प्रहरीले जनाएको छ। यद्यपि अन्य कारण भने खुलिसकेको छैन।बुधबार सुविन्द्र आफ्नो घरको बाटो हिँडिरहेका थिए। त्यही बेला विवाद भएको थियो।‘तैले गर्दा हाम्रो मान्छे थुनियो भनेर त्यहाँ सामान्य विवाद भएछ,’ एक प्रहरी अधिकृतले भने, ‘त्यसपछि सुविन्द्र घरमा फर्किएछन्। उनका घरका सबै जना खुकुरी लिएर निस्केछन्।’ 

दाजुभाइहरूसँगै सुजल, अमृत, सागर, कलेनी, टीकामाया, सञ्जेली पनि हिँडेर झडप गर्न पुगेको ती प्रहरीले बताए। त्यही झडपकै क्रममा रवीन्द्रले अनितमाथि खुकुरी प्रहार गरेका थिए। अन्य पनि घाइते भएका थिए।  घाइतेहरूको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनास्थलबाट खुकुरी पनि बरामद गरेको छ।

घटनाबारे प्रहरी वृत्त सोह्रखुट्टेले थप अनुसन्धान अघि बढाएको छ।