एमाले सचिवालय बैठक : नेताहरूको जिम्मेवारी हेरफेर हुँदै

एमाले सचिवालय बैठक : नेताहरूको जिम्मेवारी हेरफेर हुँदै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय डुबानमा परेपछि बैठक होटल बसेरा हनुमानथानमा राखिएको छ ।

आजको बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको हो ।

एमालेले गत वर्ष असारमा नेताहरूलाई फरक भूगोल र विभागमा जिम्मेवारी दिएको थियो । जेठ महिनासम्ममा जिल्ला र मातहतका कमिटीको अधिवेशनको कार्यादेशसहित उनीहरूलाई फरक भूगोलमा खटाइएको थियो । आजको बैठकले उनीहरूलाई पुरानै भूगोलमा फर्काउने तयारी छ ।

सचिवालय बैठकले केही केन्द्रीय विभागका नेतालाई यथावत जिम्मेवारीमा राख्ने, मुख्यमन्त्री, मन्त्री भएकालाई भूगोलको जिम्मेवारीबाट अलग गर्ने, प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रका इन्चार्ज तोक्ने बताइएको छ ।

त्यसबाहेक समसामयिक राजनीतिक परिस्थितिमा पनि छलफल हुनेछ ।