प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने माओवादी केन्द्रको निर्णय

प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको छ।

मंगलवारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। उनले ५ दिनदेखिको छलफलमा गम्भीर रुपमा छलफल भएको बताए।

उनले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए।

उनले जनताका जल्दा बल्दा समस्याहरु र पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारबिरोधी अभिायन अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको बताए। उनले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने निर्णय भएको पनि बताए।

उनले भने, ‘५ दिनदेखि बैठकमा छलफल गरिरहेका थियौँ। घनिभुत छलफल भएको छ। प्रमुख प्रतिपक्षको भुमिकामा पनि हामी छौँ । प्रमुख प्रतिपक्षको भुमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो संख्या कम छ र कम भएपनि गुणात्मक बनाउने, देश र जनताका जल्दा बल्दा समस्याहरु र पहिला हाम्रो सरकारले शुरु गरेका सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र ति भ्रष्टाचारबिरोधी अभिायन अघि बढाउन सरकारलाई दबाब दिने, आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ । जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस्। यो जनतामा जाने सुवर्ण अवसर पनि हो । वृहत वामपन्थी एकीकरणलाई संयुक्त मोर्चालाई बिस्तार गर्दै लैजान्छौँ । कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित हुन्छ।’

उनले वृहत वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट बिस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताए।