घरेलु हिंसा गर्ने श्रीमान्‌लाई जेल पठाइन्, आफू महाकालीमा हेलिइन्

घरेलु हिंसा गर्ने श्रीमान्‌लाई जेल पठाइन्, आफू महाकालीमा हेलिइन्

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका–४ थाराकी १७ वर्षीया धनिशा कुँवर उर्लिँदो महाकाली नदीमा शनिबार बेलुका हेलिइन्। उनको अवस्था अझै पत्ता लागेको छैन।

सुरक्षाकर्मीले कुँवरको खोजी जारी राखेका छन्। महाकाली नदीमा हाम फाल्नुको यकिन कारण पनि पत्ता लागेको छैन। प्रहरीले उनको घरपरिवारसँग सोधपुछ गरिरहेको छ।

बेपत्ता किशोरी महाकाली नगरपालिका–४ मा दिदीको घरमा बस्दै आएकी थिइन्। उनले सोही ठाउँको रिङ्ने ताल क्षेत्रबाट महाकाली नदीमा हाम फालेकी हुन्। किशोरीले केही दिनयता फरक व्यवहार देखाउने गरेको सोधपुछका क्रममा दिदीले प्रहरीसमक्ष खुलाएकी छन्।

‘दुई तीन दिनदेखि कहिले आफै हाँस्ने, कहिले रुने गरिरहेकी थिइन्। व्यवहार फरक थियो,’ धनिशाकी दिदीले प्रहरी समक्ष भनेकी छन्, ‘हिजो घरबाट निस्केकी थिइन्। नजिकै खोज्दा भेटिएन।’

स्थानीयले महाकाली किनारमा देखेपछि त्यहाँ पुग्दा घटना देखेको उनले बताइन्। प्रहरी स्रोतका अनुसार अहिलेसम्म कसैसंग रिसिबी, झैझगडा भएको देखिएको छैन।ती किशोरी हाम फाल्ने बेलाको भिडिओमा उर्लिँदो महाकाली छेउमै सानो पिल्लरमा अडेस लिएर उभिएकी छन्। नजिकै धेरै मान्छेको भीडभाड छ। कोही भिडिओ बनाइरहेका छन्।

एकछिनमा ती किशोरी भएनजिक एक जना सुरक्षाकर्मी पुग्छन्। उनको उद्धार गर्ने प्रयास गर्छन्। तर सुरक्षाकर्मीलाई देख्नासाथ ती किशोरी हत्तपत्त महाकालीमा हेलिन्छिन्।धनिशाले गत वर्ष भदौमा महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुँवरसँग भागी बिहे गरेकी थिइन्। तर उनीहरुबीचको सम्बन्ध सुमधुर हुन सकेन।

श्रीमान् उमेश जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा करिब ५ महिनादेखि पूर्पक्षको लागि जेलमा छन्। उमेशविरुद्धको मुद्दाको फैसला आएको छैन। उमेशले धनिशालाई कुटपिट गर्थे। प्रहरीका अनुसार दिदीमार्फत धनिशाले गत माघ पहिलो सातातिर प्रहरीमा उजुरी दिएकी थिइन्।त्यसबेला कुटपिट गरेर धनिशाको शरीरभरी डामैडाम थिए। श्रीमान् उमेशले घरबाहिर पनि जान नदिने गरेको भन्दै धनिशाले दिदीमार्फत प्रहरीलाई खबर गरेकी थिइन्।

भागी बिहे गरेर आएको श्रीमान्ले कुटपिट गरेर यातना दिएको र बलात्कार गरेको भन्दै धनिसाले मुद्दा हालेपछि उनी दिदीको घरमा बस्दै आएकी हुन्। श्रीमान्लाई जेल हालेको ५ महिनामै धनिशा महाकालीमा हेलिइन्।