बाग्मती सरकारमा कांग्रेसको तमासा

बाग्मती सरकारमा कांग्रेसको तमासा

मकवानपुर । राजनीतिक तिकडम खासै नजानेका भनेर छवि बनाएका बहादुरसिंह लामामा बाग्मती प्रदेश सरकारमा ‘इन्ट्री’ हुनासाथ आफ्नै पार्टीको किचलो मिलाउन हम्यहम्य भएको छ । आफैंले नियुक्त गरेका मन्त्रीलाई शपथ नै नखुवाइ पदबाटै ‘आउट’ गर्नेसम्ममा उनी पुगेका छन् ।

बाग्मती सरकारको नेतृत्वमा पहिलोपटक पुगेको कांग्रेसलाई पहिलो कुरो त आफूसँग गठबन्धनमा आएको नेकपा एमालेसँगको मन्त्रालय भागबन्डामै सहमति जुटेन । लामै रस्साकस्सीपछि एमालेसँग मन्त्रालयको भागबन्डा मिल्यो । एमालेसँग मन्त्रालयको भागबन्डानुसार मन्त्रीहरूको टुंगो पनि लाग्यो, तर कांग्रेसभित्रै सहज वातावरण बनेन । यसैको परिणाम हो, उनले नियुक्त गरेका एक मन्त्रीले नियुक्त भएको तीन दिनसम्म पनि शपथ लिन पाएनन् । अन्ततः उनको पद नै खोसियो ।

ती ‘अभागी’ मन्त्री हुन् प्रभात तामाङ । १० साउनमा बाग्मती प्रदेशको आर्थिक मामिलामन्त्री नियुक्त भएर शपथग्रहणका लागि तयार भएका तामाङलाई मन्त्रिपरिषद्बाटै बाहिर राखिएको छ ।

मुख्यमन्त्री लामाले तामाङलाई आर्थिक मामिलामन्त्रीको जिम्मेवारी दिएका थिए । यस घटनासँगै उनैको पार्टीका कुन्दनराज काफ्ले रुष्ट बने । काफ्लेलाई मुख्यमन्त्री लामाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्रालय चित्त नबुझेको निहुँमा कांग्रेसबाट मन्त्री भएकाहरूले शपथ लिन सहज मानेनन् ।

बिहीबार दिउँसोलाई भनिएको शपथग्रहण कार्यक्रम हुन्छहुन्छ भन्दै साँझ छिप्पिएपछि स्थगित गरिएको थियो । शपथग्रहण नहुनुमा अर्को कारण थियो कांग्रेसले गठबन्धनमा भएको सहमतिविपरीत एक जना मन्त्री थप नियुक्ति गर्नु ।

मन्त्रालय कटौती गर्नुपर्ने सवाल उठेका बेला झन् मन्त्री थपेपछि सत्ता साझेदार एमालेले त्यसको विरोध ग¥यो । गठबन्धनले एमालेलाई पनि एक जना मन्त्री थप नियुक्त गर्न ‘अफर’ ग¥यो, तर एमाले नमानेपछि शपथग्रहण नै रोकियो ।

अन्त्यमा बिहीबार रोकिएको शपथग्रहण कार्यक्रम हिजो (शनिबार) भएको छ । जसमा पहिले अर्थमन्त्री भएका तामाङलाई मन्त्री परिषद्बाटै हटाइएको छ भने हरिप्रभा खड्गीलाई नियुक्त गरिएको छ ।

काफ्लेलाई आर्थिक मामिलामन्त्री बनाउने सहमतिकै लागि मुख्यमन्त्री लामा तीन दिन पार्टी केन्द्रीय नेतृत्वको दबाबमा रहे । शनिबार बिहान मुख्यमन्त्री लामाले एकाएक तामाङलाई आर्थिक मामिलाबाट हटाएर काफ्लेलाई नियुक्त गरे ।

यसअघि काफ्लेको जिम्मेवारीमा रहेको सामाजिक विकास मन्त्रालयमा काठमाडौंकी हरिप्रभा खड्गी श्रेष्ठलाई नियुक्त गरिएको छ । कांग्रेस बाग्मतीमा इन्द्रबहादुर बानियाँ र लामा गुटको विवाद यस घटनापछि सतहमा स्पष्ट देखिएको छ । लामाको यस कदमपछि बाग्मतीमा बानियाँ र लामा समूहको विवाद थप बढ्ने देखिएको छ । तामाङलाई अर्थको जिम्मेवारी दिन बानियाँले सुरुदेखि नै पहल गरेका जनाइएको थियो ।

लामा मुख्यमन्त्री बनेपछि त्यसपछिको महत्वपूर्ण मानिएको अर्थको जिम्मेवारी आफ्नो समूहले पाउनुपर्ने दाबी बानियाँ समूहको थियो । तर, मुख्यमन्त्री लामाले तामाङलाई मन्त्रीबाटै हटाएपछि विवादले थप उग्र रूप लिने कांग्रेस स्रोतको दाबी छ ।

दुई दिन पनि टिकेन लामाको प्रतिबद्धता
मुख्यमन्त्री नियुक्त भएकै दिन सकेसम्म मन्त्रालय घटाउने, तर नबढाउने बताएका मुख्यमन्त्री लामाको प्रतिबद्धता दुई दिन पनि टिक्न सकेन ।

दुई दल मात्र सरकारमा सहभागी हुँदा पनि आफ्नो पार्टीको किचलो मिलाउनका लागि उनले एउटा मन्त्रालय बढाएका छन् । दलमा भएको लफडालाई मिलाउनका लागि उनले धादिङका मदुकुमार श्रेष्ठलाई बिनाविभागीय मन्त्रीका रूपमा मन्त्रिपरिषद्मा सामेल गराएका छन् । श्रेष्ठलाई व्यवस्थापन गर्न मुख्यमन्त्री लामाले कांग्रेसको भागमा रहेको मन्त्रालय फुटाउने निश्चितप्रायः छ ।