यूएईमा मृत्युदण्ड सजाय पाएका श्रेष्ठ फर्किए

यूएईमा मृत्युदण्ड सजाय पाएका श्रेष्ठ फर्किए

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३ दियालेका भुवन श्रेष्ठ नेपाल फर्किएका छन् ।

यूएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका श्रेष्ठ बुधबार राति स्वदेश फर्किएका हुन् । एउटै कम्पनीमा कार्यरत गम्भीर घाइते नवलपुरका बाबुराम आले मगरलाई उपचारका लागि अस्पताल लैजाँदा उनको मृत्यु भएपछि श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको थियो ।

५ वर्षदेखि जेलमा बसिरहेको अवस्थामा नेपालमा रहेका बाबुराम आलेको परिवारले मागेको ५० लाख ‘ब्लडमनी’ बुझाएर उनी नेपाल फर्कन सफल भएका हुन् । श्रेष्ठको घरको आर्थिक अवस्था कमजोर भएकाले चन्दा संकलनबाट ‘ब्लडमनी’ बुझाइएको थियो । उनी २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । नेपाल फर्किएपछि श्रेष्ठले बिरामी साथीलाई बचाउने क्रममा निधन भएपछि आफू घटनामा फसेको बताए । ‘साथीलाई अस्पताल लगेर ज्यान जोगाउन लाग्दा परिबन्धमा परेर हत्याराको सजायमा दण्डित हुन पुगें,’ श्रेष्ठले भने ।

सोही घटनामा संलग्न रहेको आरोपमा धादिङ नेत्रावती डबजोङ गाउँपालिका–४ का पहलमान थापालाई पनि यूएईको उपल्लो अदालतले आजीवन कारावासको सजाय सुनाउँदै ५० लाख ब्लडमनी माग गरिएको थियो । पहलमानको भने राहदानीको म्याद सकिएकाले स्वदेश फर्कन ढिलाइ हुने अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

थापालाई पनि आवश्यक कागजात तयार पारेर नेपाल फर्काइने भएको छ । ‘ब्लडमनी’ मागेपछि ‘श्रेष्ठ र थापा बचाऊ अभियान’ सञ्चालन गरिएको थियो । मगर ग्यालरी संसार र नेपाल मगर संघले आर्थिक संकलन गरेको समाजसेवी घनश्याम थापा मगरले बताए । ‘ब्लडमनी’ बराबरको पैसा नेपालमा रहेका पीडित परिवारलाई बुझाई र कन्सुलर विभागमार्फत दूतावासमा कागजात पठाएपछि उनीहरूलाई स्वदेश फर्कने प्रक्रिया थालिएको थियो ।