दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा

दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा

काठमाडौं। दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा गरिएको छ।

दोलखा भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र र जनतामा अनिष्ट हुने जानविश्वास छ। भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो।

गणतन्त्रपछि त्यो परम्परा छाडेर भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन रहिआएको छ।

सोही परम्पराअनुसार राष्ट्रपतिको कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल कर्ता बसेर धार्मिक विधि अनुसार रुद्री र होम गरिएको हो। क्षमा पूजामा ११ जना पुरोहितले लघुरुद्री पाठ, यज्ञ होम, ग्रह पूजा र मुलुकमा शान्तिको कामनासहित माङ्गलिक दोष शान्ति पूजा गरिएको थियो। क्षमापूजाको सबै खर्च सरकारले ब्यहोर्ने बताइएको छ।

दोलखा भीमेश्वरको शीलामा गत साउन ५ गते र लगत्तै साउन ९ गतेपनि पसिना आएको थियो। भीमसेनको शिलाको बाँया भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ।

शीलाको दाँया भागबाट पसिना आउँदा भने शुभ संकेत मानिन्छ। गत साउन ५ गते शिलाको बाँया भागबाट र ९ गते शीरबाट पसिना आएको थियो।

यसअघि वि.सं.१९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ मा भीमसेनको शिलाको बाँया भागबाट पसिना आएको थियो ।

यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य दुःखदायी घटना भएको इतिहास छ। भीमसेनलाई आएको पसिनाले ती घटनाहरुको पूर्वसंकेत गरेको जनविश्वास रहँदै आएको छ। भीमेश्वर मन्दिर व्यवस्थापन समितिको तर्फबाट दुई जोर कालो बोकासमेत बली दिइएको थियो।