जग्गाको विषयमा विवाद :झडपमा ११ जना घाइते

जग्गाको विषयमा विवाद :झडपमा ११ जना घाइते

झापा । झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद दुई पक्षबीच झडप भएको छ ।  झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् ।

बिहीबार बिहान साढे ११ बजेको समयमा बाह्रदशी गाउँपालिका–३ स्थित राधानगरमा सोही ठाउँका पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद भएको थियो ।  विवादको क्रममा दुवै पक्ष बाँस,लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका थिए । रेखानन्द साहले खेती जोताउन ट्याक्टर ल्याएको र पर्शुराम साहले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।

झडपमा परी बाह्रदशी–३ का ३० वर्षीय अजयकुमार शाह, सोही ठाउँका ४० वर्षीय नितानन्द साह,४० वर्षीय रेखानन्द साह, ३६ वर्षीया चाँदनी साह, ५६ वर्षीया पद्मादेवी साह, ८० वर्षीय विष्णुप्रसाद साह, २२ वर्षीय महानन्द साह, ५४  वर्षीया पर्शुराम साह र उनका १६ वर्षीय छोरा सञ्जीव साह, १७ वर्षीय विवेक साह र ५४ वर्षीया मुनाखरी साह रहेका छन् । 

उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्थामा सामान्य रहेको छ । घटना विवरण अनुसार ऐलानी जग्गाको विषयमा दुवै साह परिवारबीच विवाद भइरहेको थियो । 

दुवै पक्षलाई बिहीबार छलफलका लागि इलाका प्रहरी कार्यालय राजगढमा बोलाइएको थियो । तर, उनीहरू छलफलमा नआई झडपमा उत्रिएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक राजेन्द्र शर्माले जानकारी दिए । 

उनले झडपलाई साम्य बनाई घाइतेहरूलाई उपचारका लागि एम्बुलेन्समा हालेर बिर्तामोडतर्फ पठाइको जानकारी दिए । उनीहरू बीचको जग्गाको विवादलाई धेरै पटक मिलाउन प्रयास गरिएको थियो । तर, विवाद मिलाउन नसकिएको बताउँदै वडाध्यक्ष टङ्क साहले भने,‘दुवै पक्षबीच झापा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।’