काठमाडौं उपत्यकामा हैजा

काठमाडौं उपत्यकामा हैजा

काठमाडौं। काठमाडौं उपत्यकामा हैजाका बिरामी फेला परेको छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए।


‘हिजो (सोमबार) कल्चर गर्दा हैजा पुष्टि भयो। सम्भवतः उहाँमा खानेकुरा र पानीबाट नै हैजा सरेको आंशका गरिएको छ,’ डा. बसौलाले भने, ‘अहिले उपचार भइरहेको छ। स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।’ डा. बसौलाका अनुसार उपचारका लागि शुक्रबार अस्पताल आएका ती किशोरको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।


अनलाइनखबरका अनुसार  सोही स्थानबाट सोमबार आएका अर्को युवकमा पनि हैजाको शंका गरिएको उनले जानकारी दिए। उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ। ‘उहाँलाई आईसीयूमा राखेर उपचार गरेका थियौं । मिर्गौला काम नगरेको देखिएकाले थप उपचारका लागि आज पाटन अस्पतालमा रेफर गरेका छौं,’ डा. बसौलाले भने।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा संक्रमण पुष्टि भएसँगै पुनर्स्थापना केन्द्रमा प्रारम्भिक अनुसन्धान गरेको छ । स्वास्थ्य कार्यालय ललितपुर र गोदावरी नगरपालिकासँगको समवन्यमा अनुगमन टोली खटिएको छ। ‘केन्द्रमा चार जनामा झाडापखालाको समस्या देखियो । हालसम्म एक जनामा हैजा संक्रमण पुष्टि भएको छ,’ ईडीसीडीका एक उच्च कर्मचारीले भने, ‘ हैजाको स्रोत पत्ता लगाउन पानी संकलन गरेका छौं । केही दिनमा रिपोर्ट आउला।’

हैजा कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणको कारणले हुन्छ । जुन संक्रमित मानिसको दिसामा हुन्छ । त्यो जिवाणु हाम्रा खानेकुरा (पानी, तरकारी)को माध्यमले आन्द्रामा पुग्ने गर्छ। त्यो बाहेक अन्य किसिमबाट हैजाको संक्रमण भने हुँदैन । काठमाडौंको फोहोर र दूषित पानीबाट हैजा फैलिने चिकित्सकले बताउँदै आएका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार १० मध्ये एक संक्रमितमा हैजाले कडा रुप लिन्छ । तुरुन्त उपचार नपाए बिरामीको केही घण्टामा मृत्यु समेत हुनसक्छ ।

संक्रमण भएको केही घण्टादेखि पाँच दिनसम्ममा हैजाको लक्षण देखिन सक्छ । चौलानी (चामलको माड जस्तो) पखाला लाग्नु, बान्ता हुनु, ज्वरो आउनु र मांसपेशी (विशेषगरी खुट्टा) बौडिनु हैजाका मुख्य लक्षण हुन् ।

हैजाको मुख्य लक्षण पातलो दिसा आउनु हो । हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ । उनीहरूको दिसा अधिक पातलो हुन्छ ।

त्यस्ता मानिसको शरीरबाट चौलानीजस्तो तरल पदार्थ निरन्तर बगिरहन्छ । सँगसँगै बान्ता हुन्छ र ज्वरो पनि आउँछ । शरीरबाट अधिक तरल पदार्थ खेर जाने भएकाले तौल नै घट्न जान्छ ।