काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्। आज (मंगलबार) प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
लामाले आज नै बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई नेपाली कांग्रेसका ३७ र नेकपा (एमाले) का २७ गरी ६४ जना सांसदको समर्थन रहेको छ।
मुख्यमन्त्री लामाले भोलि बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने पनि बताइको छ। निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदबाट राजीनामा दिएका थिए।
प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका थिए।
कूल १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसिहत ७ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ। कांग्रेस–एमालेले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम भने टुङ्गाइसकेका छैनन्।
संघीय सरकारको समीकरणमा आएको उलटफेरको प्रभावका कारण बागमतीमा पनि कांग्रेस-एमालेको सरकार गठन भएको छ।