सिमलताल दुर्घटना : केराबारीसम्म खोजी गर्दा केही वस्तु भेटिएको संकेत

सिमलताल दुर्घटना : केराबारीसम्म खोजी गर्दा केही वस्तु भेटिएको संकेत

चितवन । भरतपुर महागनरपालिका-२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै असार २८ गते बिहान बगेर त्रिशूलीमा खसेका दुईवटा दुईवटा बस र यात्रुको खोजी जारी छ ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूलीमा खसेका थिए ।

तर घटनाको ११ दिन बितिसक्दा पनि बस र अधिकांश यात्रु फेला पर्न सकिएको छैन । यद्यपि नेपाल र भारतकासमेत उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरूको अवस्था खुल्न सकेको छैन ।

नेपालका सुरक्षाकर्मी साथै भारतबाट आएका प्राविधिक टोलीले घटनास्थल वरपर खोजी गरिरहेका छन् । दुर्घटनामा हराइरहेकामध्ये अहिलेसम्म २५ जनाको शव भेटिएको छ । खोजीकार्यमा संलग्न टोलीले सिमलतालबाट घुमाउनेदेखि देवघाट र काभ्रेघाटसम्म आफूलाई केन्द्रित गरेको छ ।

नेपाल र भारतको संयुक्त उद्धार टोलीले दुर्घटनास्थल सिमलतालदेखि केराबारीसम्म खोजी गर्ने क्रममा केही वस्तु भेटिएको संकेत पाएको जनाएको छ । तर अहिलेसम्म उक्त वस्तु बस या अरु नै केही हो भन्ने खुल्न सकेको छैन ।