संसदमा आफ्नोबारे टिप्पणी गरेपछि रविलाई विनोद चौधरीले दिए यस्तो जवाफ

संसदमा आफ्नोबारे टिप्पणी गरेपछि रविलाई विनोद चौधरीले दिए यस्तो जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले रवि लामिछानेप्रति लक्षित गर्दै राजनीतिक स्टन्ट बन्द गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

लामिछानेले संसद्मा सम्बोधन गर्दै अनुसन्धानमा रहेका व्यक्ति बालकोटमा गएर गीत गाएको भन्दै टिप्पणी गरेका थिए ।आज चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, “विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी आज संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन ।”

यस्तो छ चौधरीले सामाजिक सञ्जालमा लेखेको प्रतिक्रिया
प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर  जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापुर्ण अभिव्यक्ती दिएका छन्। जसकाप्रति मेरो घोर आपत्ती छ। विवादित विगत र बर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी आज संसदजस्तो गरिमामय थलोमा  कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन । 

विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो । 

अन्तराष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ।  संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरुमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु।