प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरूद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको छ ।

रिट प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नै न्यायाधीश ढकालको इजलासको चौथो नम्बरमा परेको हो । प्रधानमन्त्रीमा ओलीलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार गरिएको नियुक्ति संविधानविपरीत भएको भन्दै अधिवक्तात्रय दीपक अधिकारी, खगेन्द्रकुमार चापागाईं र शैलेन्द्रकुमार गुप्ताले गएको असार ३१ गते रिट दायर गरेका थिए ।

रिटमा राष्ट्रपति तथा राष्ट्रपतिको कार्यालय, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा तथा कांग्रेस संसदीय दलको कार्यालय, एमाले संसदीय दलका नेता केपी शर्मा ओली तथा संसदीय दलको कार्यालय र प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाइएको छ।

रिटमा प्रधानमन्त्रीमा नियुक्त निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि उपधारा ३ मा जानुपर्ने जिकिर निवेदकले गरेका छन् ।