बागमती र लुम्बिनी सरकारबाट एकसाथ बाहिरिँदै माओवादी

बागमती र लुम्बिनी सरकारबाट एकसाथ बाहिरिँदै माओवादी

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

सत्ता साझेदार दल नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै उनी अल्पमतमा परेका थिए। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ। बागमतीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन्।

एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। त्यस्तै, कांग्रेसले पनि विश्वासको मत नदिने निश्चित छ । एमाले–कांग्रेसले विश्वासको मत नदिएसँगै बागमतीमा जम्मकट्टेल नेतृत्वको सरकार ढल्ने निश्चित छ।


त्यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि आइतबार नै विश्वासको मत लिँदैछन्। लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्। त्यस्तै माओवादी केन्द्रका १० सांसद छन्।

त्यस्तै साना दल राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन-तीनजना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा दुई–दुईजना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक-एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन्।

कूल ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री महराले पनि विश्वासको मत नपाउने निश्चित छ ।