काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी उपचारका निम्ति कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका छन् । दायाँ हातको कान्छीऔँला बांगो भएका कारण त्यहाँ उनको अपरेसन गर्न लागिएको हो ।
भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा जलनको उपचार गराएर केही समयअघि उनी फर्किएका थिए । कांग्रेस नेता डा. शेखर कोइराला भण्डारीलाई भेट्न बुधबार (हिजो) उनकै निवासमा पुगेका थिए । राजनीतिक कारण नभएर आफ्नो स्वाथ्योपचारका विषयमा मात्र भेट्न आएको उनले बताए । आफू मन्त्रीको आकांक्षी नै नभएको भन्दै उनले मिडियाले विभिन्न व्यक्तिसँग कुरा गरेर हचुवामा नाम मात्र लेखिदिएको जिकिर गरे । नयाँ सत्तासमीकरणबारे सभापति शेरबहादुर देउवालाई सुझाव भने दिएको उनले सुनाए ।
“सत्ता गठबन्धनमा हामी एमालेसँग छौँ । प्रचण्डलाई ह्यान्डल गर्न जति सजिलो थियो, केपी शर्मा ओलीलाई ह्यान्डल गर्न त्यतिकै सजिलो छैन,” डा. भण्डारीले बाह्रखरीसँग भने, “त्यसका लागि काम गर्न सक्ने, ओलीसँग डटेर तर्क गर्न सक्ने र आफ्ना तर्कमा कन्भिन्स गरेर अघि बढ्न सक्ने व्यक्ति पठाउनुपर्छ भनेको थिएँ । तर, सभापतिजीले त्यो गर्नु भएन ।”
उनले सत्ता हस्तान्तरणको विषय समेत पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको प्रभावकारितामा निर्भर रहने बताए । “सत्ता हस्तान्तरण नहुने नेपालको स्थापित खराब प्रवृत्ति हो,” उनले भने, “भोलिका दिनमा पनि त्यो संकट आउने जोखिम टरेको छैन । त्यस्तो जोखिम वहनका लागि कांग्रेस नेतृत्वले परिपक्व निर्णय अहिलेदेखि नै गर्नुपर्थ्यो, त्यो गरेको छैन ।”
आफू पद नपाए पार्टी वा नेतृत्वलाई समस्यामा पार्छु भनेर धम्की दिने पात्र नभएको उनले बताए । नेतृत्वले पार्टी र देशको हितमा काम गर्ने ल्याकत भने राख्नुपर्नेमा उनले जोड दिए ।
“कांग्रेस र एमालेकोे सरकार बनिसक्यो, यो सरकार पनि सफल भएन भने कसलाई दोष दिने ? नागरिकको निराशा चिर्न सकिएन भने विकल्प के हुन्छ ?,” भण्डारीले भने, “योभन्दा शक्तिशाली विकल्प अहिलेका लागि छैन । यस्तो होे भने यसलाई सफल बनाउन नेताहरू लाग्नुपर्ने हो । राम्रा मान्छे छान्नुपर्ने हो । तर, हाम्राकै खोजी गरेर परिणाम हात लाग्दैन ।”