चितवन। नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ।
उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन्।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६का ३५ बर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ बर्षीय ऋषि कुमार सिंह रहेका थिए।
अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ र आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ। अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको छ।
पाँच दिनपहिले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिले सम्म फेला परेका छैनन् ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जस मध्ये तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।