एमालेबाट सम्भावित मन्त्रीको सूचीमा को को ?

एमालेबाट सम्भावित मन्त्रीको सूचीमा को को ?

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आफूसँगै सबै मन्त्रीहरुको शपथ गराउने तयारी गरेका छन्।

राष्ट्रपति कार्यालयमा सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओलीको शपथ छ। ओलीले शपथ लिए लगत्तै उपप्रधानमन्त्रीहरुमा प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलको शपथ हुनेछ। पौडेलले अर्थ मन्त्रालय पाउने यसअघि नै पक्का भइसकेको छ।

त्यसपछि बाँकी सबै मन्त्रीहरुको शपथ गराउने तयारी रहेको स्रोतले जनायो। ती स्रोतका अनुसार, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मन्त्रीको नाम बुझाउने तयारी गरिरहेका छन्।

आइतबार साँझ मन्त्रालयको भागबण्डा टुंगो लगाएका देउवा र ओलीले भोलि बिहानसम्म मन्त्रीहरु टुंगो लगाउने भएका छन्। जसका लागि कांग्रेसमा सभापति देउवाले लगातार छलफल चलाइरहेका छन्।


एमालेमा भने मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई नै दिइएको छ । सचिवालय बैठकले मापदण्ड बनाएर मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको थियो । जसअनुसार ओलीले मन्त्री बन्ने सांसदहरुलाई संकेत दिइसकेका छन् । तर पक्का भने गरेका छैनन् ।

‘मन्त्री बन्नुपर्छ भनेर भन्नुभएको छ, तर टीम मिलाउने क्रममा तलमाथि हुन सक्ने भएकाले निश्चित छैन’, ओलीले मन्त्री बनाउने संकेत गरेका एक सांसदले भने।

मन्त्रीको आश्वासन पाएका अर्का सांसद पनि ढुक्क हुने अवस्था नरहेको बताउँछन्। ‘पार्टी अध्यक्षलाई नाम टुंग्याउने जिम्मा दिएका छौं। उहाँले आवश्यक पर्दा परिवर्तन गर्न सक्ने भएकाले अहिले नै ढुक्क हुने स्थिति छैन’, ती सांसदले भने।

उच्च स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरु योगेश भट्टराई र छविलाल विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका छन्। सचिवालय बैठकले योग्य र अनुभवीलाई मन्त्री बनाउने मापदण्ड बनाएकाले सिनियर नेतामध्ये गुरुङ, भट्टराई र विश्कर्मालाई मन्त्री बन्ने सूचीमा परेका हुन्।

यस्तै पूर्वमन्त्रीहरु जुली महतो र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बन्ने नेताहरुको सूचीमा छन्। महतो र श्रेष्ठ यसअघि अघिल्लो कार्यकालमा ओली प्रधानमन्त्री हुँदा पनि मन्त्री थिए। कास्कीकी विद्या भट्टराईलाई मन्त्री बनाउने ओलीको तयारी रहेको एमाले स्रोतले जनाएको छ।

यसबाहेक सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष जितेका दामोदर भण्डारी अथवा तारा लामा मन्त्री बन्ने सूचीमा छन्। भण्डारी यसअघि प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री थिए भने लामा सुदूरपश्चिम प्रदेशमा मन्त्री भएका थिए।

प्रचण्ड नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका पदम गिरी पनि मन्त्री दोहोरिने सम्भावना रहेको स्रोतको भनाइ छ।

अनलाइन खबरबाट