‘कल्की’ले कमायो एक हजार करोड भारु

‘कल्की’ले कमायो एक हजार करोड भारु

काठमाडौं । भारतीय फिल्म ‘कल्की २८९८ एडी’ले विश्व बक्स अफिसमा एक हजार करोड भारुको दमदार कमाइ गरेको छ । प्रदर्शनबाट खुसी निर्माताले प्रभासको चरित्र कर्णको लुकको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

भिडियोमा प्रभास कर्णको रुपमा देखिएका छन् । उनको यो लुकलाई फ्यानले पनि रुचाइरहेका छन् । फिल्ममा प्रभाससहित अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हसन र दिशा पटानीको मुख्य भूमिका छ ।

फिल्मले तेस्रो सातामा सो कमाइ हासिल गरेको स्याकनिल्कले जनाएको छ । फिल्मले १६ औं दिनमा भारतमा ५.२ करोड भारु कमाएको उल्लेख छ । योसँगै भारतमा फिल्मको कमाइ ५४८ करोड भारु पुगेको छ ।

प्रभास स्टारर फिल्मले व्यावसायिक र समीक्षात्मकरुपमा सफलता पाएको छ । पछिल्लो समय उनका फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेका थिएनन् । सन् २०१७ मा रिलिज भएको ‘बाहुबली २’ पछि प्रभासका फिल्मले सफलता पाउन सकिरहेका थिएनन् । ‘सलार : पार्ट वन’ मात्र बक्स अफिसमा हिट हुनसक्यो ।

‘कल्की’को बजेट ६०० करोड भारु बताइएको छ, जुन अहिलेसम्मकै महंगो लगानीको भारतीय फिल्म हो । नाग आश्विन निर्देशित फिल्मले दक्षिण भारतीय तेलुगुभाषी राज्यमा राम्रो कमाइरहेको छ । हिन्दी बहुल राज्यमा समेत फिल्मको कमाइ आकर्षक रहेको जनाइएको छ ।

१६ औं दिनसम्मको तेलुगु संस्करणको कमाइ २५५ करोड भारु छ । हिन्दी संस्करणको कमाइ २३६ करोड भारु छ । व्यापार विश्लेषक रमेश बालाका अनुसार तेस्रो शुक्रबार फिल्मले विश्वव्यापी एक हजार करोड भारु कमाएको हो । यसअघि यो कीर्तिमान शाहरुख खानका दुई फिल्म ‘जवान’ र ‘पठान’को नाममा थिए ।