काठमाडौँ । साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा मंगलबार भएको आक्रमणमा तीनजना नेपाली घाइते भएका छन् ।
साउदी नागरिक सुरक्षा निकायले आक्रमणमा ११ जना घाइते भएको बताएको छ, जसमध्ये तीनजना नेपाली रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । घाइते हुनेमा तीनजना नेपाली, दुईजना साउदी, दुईजना भारतीय र चारजना इजिप्टका नागरिक रहेको त्यहाँको सुरक्षा निकायले जनाएको छ । स्थानीय मिडियाका अनुसार घाइतेहरूको उपचार भइरहेको छ । घाइतेको पूरा विवरण भने खुलाइएको छैन ।
केही दिनको अन्तरालमा यमनको विद्रोही समूह हुथीले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा बुधबार दोस्रोपटक आक्रमण गरेको हो । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई ‘आतंकवादी हमला’ भनेको छ ।
टावरमा साउदी अरबको सार्वभौम सम्पत्ति कोषको मुख्यालय छ । गत बिहीबार पनि यो भवन आक्रमणमा परेको थियो ।