कांग्रेसभित्र मन्त्रालयको भागबण्डाः शेखर–गगन समूहले माग्यो ४ मन्त्री

कांग्रेसभित्र मन्त्रालयको भागबण्डाः शेखर–गगन समूहले माग्यो ४ मन्त्री

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना मन्त्री बन्नुपर्ने निष्कर्ष निकालेको छ । 

कांग्रेस र एमालेबिच मन्त्रालयको भागबन्डा हुँदा १० वटा मन्त्रालय कांग्रेसले पाउने मोटामोटी समझदारी भएको छ । जसअनुसार महामन्त्री गगन थापासहित इतर समूहको आइतबार बसेको बैठकले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने र सोहीअनुसार सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने निष्कर्ष निकालेको हो ।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले सभापति  देउवासँग कम्तीमा ४ मन्त्री माग गर्ने निर्णय भएको जानकारी दिए । बैठकमा शेखर–गगनका साथसाथै उपसभापति धनराज गुरुङ, नेताहरु अर्जुननरसिंह केसी जीवन परियार, बद्री पाण्डे, दिलेन्द्र बडूलगायत सहभागी भएका थिए । 

यसअघि शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताका आधारमा समावेशिता तथा प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय भएको छ। सोहीअनुसार कांग्रेसले अब आन्तरिक भागबन्डा मिलाएर मन्त्री टुङ्ग्याउने बताइएको छ ।