एउटै फार्मका बाइस हजार कुखुरा मरे

एउटै फार्मका बाइस हजार कुखुरा मरे

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा करिब २२ हजार ब्रोइलर कुखुरा मरेका छन्। 

अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज अचानक मरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले शङ्कर टण्डनको फार्ममा रहेका ६० हजार ब्रोइलर कुखुरामध्ये २२ हजार मरेका जानकारी दिए। 

फार्मका तीनवटा कोठामा विद्युत् आपूर्तिमा समस्या भएपछि कुखुरा मरेका हुनसक्ने उनले बताए। “वातानुकुलित (एसी) जडान गरिएको फार्ममा बिहीवार रातिदेखि विद्युत् आपूर्तिमा समस्या आएको रहेछ”, प्रनाउ पौडेलले भने, “अक्सिजनको कमी तथा गर्मीका कारण कुखुरा मरेको भन्ने सञ्चालकको भनाइ छ।”