नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वर्ग जाँदा सँगै जाने भन्दै ढुक्क भएर बस्न आग्रह गरेका छन्।
आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ‘स्वर्ग गएपनि नर्क गएपनि संँगै जाने’ भनेको कुरालाई प्रचण्डले बुझ्न नसकेको जिकिर गरे। ‘तपाईं पनि यही हलभित्रै हो। हामी सबै हो। हाम्रो अध्यक्षले स्वर्ग गएपनि सँगै, नर्क गएपनि सँगै भनेको त्यो हो। तपाईंको पदका लागि भनेको होइन। सँगै जाऔँला नि भनेका हौँ। नर्क जाँदै जाँदैनौँ,’ योगेशले भने, ‘स्वर्ग जाँदा पनि सँगै लान्छौँ। यति कुरा ढुक्क हुनुहोला। तपाईंलाई छुट्न दिँदैनौँ। तपाईंलाई छुटेर पनि अन्त जाने ठाउँ छैन। त्यो पनि ख्याल गर्नुहोला।’
उनले ओलीको उक्त भनाइलाई नबुझेको खण्डमा सोधेको भए हुने पनि भने। ‘अर्को अर्थमा बुझ्नुभएछ। तपाईंले बुझ्नुभएछ त के गर्ने? न नबुझ्ने तपाईंको दोष हो। यदी नबुझेको भए फेरि सोधेको भए हुन्थ्यो। बुझेजस्तो गर्नुभयो, खास बुझ्नुभएको रहेनछ,’ भट्टराईले भने।