काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार (भोलि) विश्वासको मत लिँदै छन् । प्रचण्डसँग सत्ता सहकार्यमा रहेका दलहरू नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा छ ।
संसदीय राजनीतिका दुई ठूला र पूराना राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्ने सहमतिमा पुगेपछि प्रचण्डको सरकार अल्पमतमा परेको हो । असार १७ गते मध्यरातमा कांग्रेस–एमाले समीकरण बनाउने र सरकार सञ्चालन गर्ने सहमति भएको थियो । सोपश्चात् असार १९ मा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमाले संसद्को दोस्रो ठूलो दल हो भने कांग्रेस पहिलो दल हो ।
सोही कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपरेको हो । तर, शुक्रबार प्रतिनिधिसभा बैठक सुरू हुने समयसम्म ठूलै राजनीति उथलपुथल नभए प्रचण्डले विश्वासको मत पाउने सम्भावना छैन । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेस–एमालेले निर्णय नै गरिसकेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार सदन बैठकमा अनिवार्य उपस्थित भएर प्रचण्डको विरुद्ध विश्वासको मत हाल्न ह्वीप जारी गरेका हुन् ।
यस्तै, नेकपा एमालेले पनि विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । प्रमुख सचेतक महेश बर्तौलाले ह्वीप जारी गर्दै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पार्न सांसदहरूलाई निर्देशन नै दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई मत नदिने निर्णयमा जनमत पार्टी पनि पुगेको छ । मधेस सरकारमा कांग्रेस–एमाले सहयोग पाएको जनमतले केन्द्रमा पनि सोही गठबन्धनलाई निरन्तरता दिने तयारीमा छ ।
उपेन्द्र यादवबाट फुटेर बनेको दल जनता समाजवादी पार्टीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी पनि प्रचण्डलाई विश्वासको मत दिन तयार छैन । नागरिक उन्मुक्ति पार्टीमा रञ्जीता श्रेष्ठबाहेक अन्य तीन सांसद प्रचण्डलाई विश्वासको मत दिन तयार छैनन् । उनीहरूले श्रेष्ठलाई दलको नेताबाट हटाइसकेका छन् भने प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको निर्णय गरेका छन् ।
राप्रपाले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिने तयारी गरेको छैन । यसका लागि निर्णय गर्न पार्टी संसदीय दलको बैठक बस्दै छ ।यता, प्रधानमन्त्री प्रचण्डलाई उनकै दल माओवादी केन्द्रबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वासको मत दिने तयारी गरेको छ । औपचारिक रूपमा निर्णय गर्न शुक्रबार बिहान ९ बजे दलको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिने तयारीमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि छ । समाजवादीको बैठक अहिले बसिरहेको छ । नेताहरूले सार्वजनिक रूपमा नयाँ गठबन्धन स्वीकार्न नसकिने टिप्पणी गर्दै आएका छन् । उपेन्द्र यादवको जनता समाजवादी पार्टी पनि प्रचण्ड नेतृत्वको सरकारको पक्षमा उभिने तयारी गरेको छ ।