प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिने कार्यसूची तय भएपछि एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।

असार १७ गते संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित नयाँ सत्तासमीकरण बनाउने सहमति भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। कांग्रेस(एमालेबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। 

सहमतिअनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। त्यसपछि चुनावसम्म  कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ।

सत्तामा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजनीतिक संकटमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिँदैछन्। तर,प्रचण्डले विश्वासको मत पाउने संभावना भने छैन।

हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट आवश्यक पर्छ। अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८८ र दोस्रो ठूलो दल नेकपा एमाले ७९ जना सांसद छन्। यी दुवैलाई जोड्दा पनि बहुमत पुग्ने अर्थात् १६७ सिट पुग्ने अवस्था छ।