बाढीपहिरोबाट हालसम्म ८० जनाको मृत्यु, पाँच बेपत्ता

बाढीपहिरोबाट हालसम्म ८० जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौं। अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट आजसम्म ८० जनाको मृत्यु भएको छ।

गत जेठ २८ देखि हालसम्म काठमाडौं उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मौसमजन्य विपद्मा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विपद्मा फसेका ५३ जनाको उद्धार गरिएको छ।

बाढीका कारण एक सय ६१ घर डुबानमा परेका छन्। एक सय ३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए। उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार सात सय ६४ घर परिवार विस्थापित भएका छन्।