रमेश लेखक गृहमन्त्री, आरजु परराष्ट्र, को–को बन्दैछन् कांग्रेसबाट मन्त्री ?

रमेश लेखक गृहमन्त्री, आरजु परराष्ट्र, को–को बन्दैछन् कांग्रेसबाट मन्त्री ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै छन् । संसद्को ठुला दल नेपाली कांग्रेस र एमालेबीच सहकार्यको सहमति भइसकेकोले प्रचण्डले विश्वासको मत पाउने सम्भावना छैन । 

कांग्रेस र एमालेबीच पहिलो कार्यकालमा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने समेत सहमति भएको छ । फलतः कुनै ठुलो राजनीतिक उथलपुथल नभए असार २९ गते ओली प्रधानमन्त्री बनिसक्नेछन् । नयाँ सरकार बन्ने भएसँगै कांग्रेस र एमालेभित्रका नेताहरुले मन्त्री बन्न दौडधुप सुरु गरेका छन् । नेपाली कांग्रेसले प्रमुख सचेतक रमेश लेखकको नेतृत्वमा सरकारमा सहभागिता जनाउने तयारी गरेको छ । 

स्रोतका अनुसार लेखकलाई गृहमन्त्रालयको जिम्मेवारी दिइनेछ । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा पनि यसपटक मन्त्री बन्दै छिन् । उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।सरकारमा उृपप्रधानमन्त्रीको व्यवस्था गरिए गगन थापाले पनि अवसर पाउने देखिन्छ ।  हालका अर्थ समितिका सभापति सन्तोष चालिसे, राजन केसी किशोर सिंह राठौर, चन्द्र भण्डारी, रामकृष्ण यादवको नाम पनि सम्भावित मन्त्रीको रुपमा चर्चामा छ ।  

यता नेकपा एमालेमा मन्त्रीका आकाङ्क्षी बढेपछि मापदण्ड बनाइने भएको छ । ओली र देउवा भने मन्त्रालयको भागबन्डालाई अन्तिम रुप दिन आन्तरिक गृहकार्यमा जुटिरहेका छन् ।नयाँ सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको छ । त्यस्तै, एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो ।

निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको बताइएपनि सहमतिपत्र सार्वजनिक गरिएको छैन ।