काठमाडौं । सहकारीको बचत अपचलन प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित केही जानकार व्यक्तिहरूसँग छलफल गरेको छ ।
समस्याग्रस्त सहकारीको समाधान कसरी गर्न सकिन्छ, सम्बन्धित सहकारीका बचतकर्ताहरूको बचत कसरी फिर्ता गर्न सकिन्छ भन्नेबारे छलफल गरेको समिति सभापति सूर्य थापाले जानकारी दिए ।
समितिले गभर्नर अधिकारीसहित नेपाल बैंकर्स एसोसिएनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टलगायतसँग छलफल गरेको थियो ।“उहाँहरूले समग्रमा वित्तीय प्रणालीमा नै समस्या देखिएको बेला सहकारी क्षेत्रमा देखा परेको सङ्कटको प्रभावबारे महत्त्वपूर्ण सुझाव दिनुभयो,” सभापति थापाले भने, “गभर्नरज्यूले सहकारी बचतकर्तालाई १ लाख, ५ लाख र त्योभन्दा माथि गरी तीन चरणमा फिर्ता गर्न सकिने भनेर सुझाव दिनुभयो ।”
यस्तै समस्याग्रस्त सहकारीका सन्दर्भमा ‘विशेष टिम’को बनाउन सुझाव आएको सभापति थापाले बताए । “त्यसमा उहाँहरूले असीमित ढङ्गले बचत सङ्कलन गर्न दिइएको, सुपरिवेक्षण नगरिएकोलगायतका समस्याका कारण समस्या भयो भनेर निष्कर्ष निकाल्नुभयो,” सभापति थापाले भने, “त्यसका लागि विशेष टिम बनाएर काम गर्नुपर्ने सझाव आएको छ ।”