मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु

मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु

काठमाडौं। मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ। असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन्।

२ जना बेपत्ता छन् भने १९ जना घाइते छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३/३ जनाको मृत्यु भएको छ।

काभ्रे, पर्वत र दाङमा २/२ तथा काठमाडौं र उदयपुरमा १/१ जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको छ। त्यसबाट १ सय ४७ भन्दा बढी घर परिवार प्रभावित भएका छन्। घर, सडक लगायतका सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको छ।

राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १ सय ४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि काठमाडौं उपत्यका सहितका पूर्वी भागमा तुलनात्मक रूपमा मौसममा सुधार देखिएको छ।

तर आज सुदूरपश्चिम र कर्णाली प्रदेशको तल्लो भाग भने प्रभावित हुनेछ। सोमबारदेखि मौसममा आजको भन्दा पनि धेरै सुधार आउने मौशम पुर्वानुमान महाशाखाले जनाएको छ।